प्रकृतिले हाम्रो देशलाई मुख्यतः तीनवटा कुरा दिएको छ– उर्बरभूमि, जलस्रोत र हिमशृंखला। त्यसबाहेक अनेकौं पुराताŒिवक स्थल र धार्मिक सम्पदा छन्। अनि छन्, वनजंगल, अन्यत्र कतै नपाइने जीवजन्तु र चराचुरुंगी अनि मनोरम फाँट र पहाडहरू।
अन्वेषण हुन बाँकी खानीका अनेक क्षेत्रहरू छन्। यति सानो भूगोलभित्र रहेको जातीय एवं सांस्कृतिक विविधता हाम्रो अर्को अनमोल सम्पत्ति हो।
हामीसँग समुद्री मार्ग छैन भनेर चिन्ता गरेर बस्ने होइन। भएकै सम्पत्तिको सदुपयोग गर्दै अघि बढ्ने हो। त्यसका लागि कृषि, पर्यटन र वन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्छ। कृषि भनेको सबैभन्दा कम लगानीमा देशको परनिर्भरता घटाउँदै समुन्नतिको मार्गमा लैजान सक्ने क्षेत्र हो। तर, बढ्दो उत्पादन लगतका कारण लगानी र मिहिनेतअनुसारको आर्जन नहुने स्थिति छ। बजारको सुनिश्चितताको अभावका कारण युवा खेतबारी बाँझो राखेर विदेश पलायन हुन बाध्य छन्।