शुक्रबारको हिंसात्मक प्रदर्शनपछि फरार रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंको खोजीमा प्रहरीले विशेष टोली खटाएको छ।
विशेष टोलीको अनुसन्धानमा तीनकुनेबाट भागेका प्रसाईं धर्मगुरु पुष्कर खतिवडाको इमाडोस्थित घरमा लुकेको खुलेको छ। खतिवडाको घरमा खाना खाएर निस्केका प्रसाईंको अवस्था त्यसपछि अज्ञात छ।
प्रहरी उच्च स्रोतका अनुसार प्रसाईं ललितपुरबाट निस्केको सुराकी हालसम्म आएको छैन। उनी ललितपुरमै रहेको स्रोतको दाबी छ। उनलाई लुकाउन सहयोग गरेका धर्मगुरु खतिवडा भने पक्राउ परिसकेका छन्। उनलाई शनिबार बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो।
पक्राउ परेका खतिवडाले प्रहरीलाई दिएको वयानमा प्रसाईं आफ्नो घरमा बसेर स्याउ र केरा खाएर निस्केको बताएका छन्।
यो पनि-
यता काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार प्रसाईंले उपत्यका छोडिसकेको जानकारी प्राप्त भएको छ। यद्यपि यो आधिकारिक जानकारी नभएर अनौपचारिक स्रोतबाट आएको जानकारी रहेको प्रहरीले जनाएको छ।
उनी ललितपुरबाट हेटौंडाको बाटो हुँदै विरगंजबाट भारत भाग्न लागेको प्रहरीको अनुमान छ। गृहमन्त्रालयले भारतसँगको सीमा नाकामा कडाइ गर्न आदेश दिइसकेको प्रहरी स्रोतले बतायो।
स्रोतका अनुसार पक्राउको क्रममा प्रहरीमाथि खतरा उत्पन्न भए बल प्रयोग गर्नसक्ने अधिकार पनि दिएको छ।
आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायत राजावादी नेताहरू पक्राउ परिसकेका छन्। राजावादी मोर्चाका संयोजक ८६ वर्षीय नवराज सुवदीलाई भने स्वास्थ्य अवस्थाका कारण घरमै नजरबन्दमा राखिएको छ।
आन्दोलनका क्रममा पत्रकारसहित दुई जनाको मृत्यु हुँदा २२ जना घाइते भएका छन्। कयौं घरहरू र व्यापारिक कम्प्लेक्समा क्षति भएको छ।