पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले चैत १५ गतेको प्रदर्शनमा निर्मल निवासको कुनै संलग्नता नरहेको स्पष्ट गरेको छ।
तीनकुने घटनापछि निर्मल निवासको कुनै प्रतिक्रिया नआएको भन्दै व्यापक आलोचना भइरहेका बेला निर्मल निवासले मुख खोलेको छ। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले बीएल नेपाली सेवासँग कुराकानी गर्दै १५ गतेको आन्दोलनमा निर्मल निवासको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
तीनकुनेको आन्दोलन हिंसात्मक बनेपछि ठूलो धनजनको क्षति भएको थियो। उक्त घटनापछि १०० भन्दा बढी राजावादी कार्यकर्ताहरू पक्राउ परेका छन्। भने राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्।
यो पनि-
उनले पूर्वराजाले कसैलाई पनि कमाण्डर नतोकेको र प्रदर्शनको आह्वान पनि नगरेको दाबी गरे। प्रदर्शनको अघिल्लो दिन पूर्वराजासँग प्रसाईंले भेटवार्ता गरेपछि राजावादी मोर्चाले उनलाई आन्दोलनको कमाण्डर तोकेको थियो। तर, पूर्वराजाको सचिवालयले भने आन्दोलनमा निर्मल निवासको संलग्नताबारे गरिएका दाबीहरू खारेज गरेको छ।
पूर्वराजाका संवाद सचिव पाठक भन्छन्, ‘राजाले कमान्डर तोक्नुभएको पनि होइन, प्रदर्शनको आह्वान पनि गरेको होइन। निर्मल निवासमा को-को आउँछन कति आउँछन सबैलाई राजाले आन्दोलन गर्न उक्साएर पठाउछन र? त्यसरी उक्साउने नै भए फागुन २५ को त्यत्रो जनसमुदायलाई भड्काउन सकिन्थ्यो नि, सुझबुझ तरिकाले निर्मल निवासमा लगेर टुङ्ग्याएको हो नि।’
यता पूर्वराजालाई जबरजस्ती आन्दोलनमा मुछ्न खोजिएको भन्दै निर्मल निवासले असन्तुष्टि व्यक्त गरेको छ। काठमाडौं महानगरपालिकाले तीनकुने आन्दोलनमा भएको क्षति र फोहरमैलाको जरिवाना पूर्वराजाको नाममा काटेपछि हंगामा भएको छ।
यता दलहरूले घटनामा निर्मल निवासबाट कुनै प्रतिक्रिया नआएको भन्दै आलोचना गरिरहेका छन्। पूर्वराजाका संवाद सचिव पाठक राजालाई आन्दोनमा मुछ्ने प्रयास भइरहेको दाबी गर्छन्।
भन्छन्, ‘मृतकप्रति समवेदना किन दिएनन् भन्ने प्रश्न छ। दियो भने त ल हेर आन्दोलन गर्न उक्साको रहेछ नि अनि अपनत्व पनि लियो भन्छन्। महानगरको जरिवानाको कुरामा पनि त्यही लागू हुन्छ। जरिवाना तिरे आन्दोलन गर्न उक्साको रहेछ नि भनेर आरोप लगाउँछन् फेरि।’
त्यस्तै उनले राजतन्त्र पक्षधरहरूविरुद्धमा मिडियाहरू असाध्यै बायस भएर लागेका आरोप लगाएका छन्।
पाठक भन्छन्, ‘पञ्चायतकालमा दलहरू प्रतिबन्धित भएपनि दलका गतिविधि त चलिरहन्थे, अहिले पनि राजालाइ समर्थन गर्ने राजाले होइन कि राजालाई समर्थन गर्ने दलहरूका गतिविधि मिडियाले किन कभर गर्दैनन्? खबर त खबर हो नि।’