अपडेट—

पश्चिम बंगाल निर्वाचनमा हिंसा भड्किँदा १७ काे मृत्यु

भारतीय राज्य पश्चिम बंगालमा ‘स्थानीय निर्वाचन’कै दिन हिंसा भड्किएको छ।

अलग–अलग इलाकामा भएकाे हिंसामा परी १७ जना स्थानीय नेता–कार्यकर्ताले ज्यान गुमाएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

टीएमसी, सीपीआई, कांग्रेस, भाजपा र आईएसएफका नेता–कार्यकर्ता एकआपसमा भिड्दा उनीहरूले ज्यान गुमाएको अधिकारीहरूले जनाएका छन्।

राज्यभर ‘गाउँ पञ्चायत चुनाव’मा मतदान भइरहेका बेला निर्वाचनमा सहभागी दलका स्थानीय नेता–कार्यकर्ताहरूले दर्जनौँ मतदानस्थल तोड्फोड तथा आगजनी गरेका छन्।

स्थानीय निर्वाचनको नतिजा आ–आफ्नो पक्षमा पार्न खाेज्दा ठाउँठाउँमा मतपत्र च्यात्तिएको छ। स्थानीय कार्यकर्ताहरूले कतिपय मतदानस्थलका मतपेटिका लुटेर नदीमा फ्याँकेका छन् भने कतैकतै आगजनीसमेत गरिएको छ।

एकाएक भड्किएको चुनावी हिंसाका सन्दर्भमा भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले चिन्ता व्यक्त गरेका छन्। उनले पश्चिम बंगाली मुख्यमन्त्री ममता बनर्जीसँग ‘किन भड्कियाे हिंसा’ भन्दै रिपोर्टसमेत मागेका छन्।

बंगालमा चुनावी माहाेल तातिएकाे छ। राज्यका ७३,८८७ गाउँ पञ्चायतको नजिता ११ जुलाईसम्म आउँदैछ। ९,०१३ क्षेत्रमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्, यसमा सबैभन्दा धेरै तृणमूल कांग्रेसका छन्। भाजपाका ६३ उम्मेदवार, कांग्रेस ४० उम्मेदवार र सीपीएमका ३६ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: : 2023-07-09 08:11:00

प्रतिकृया दिनुहोस्