तीनकुने घटनामा प्रधानमन्त्रीदेखि सबैले पूर्वराजा ज्ञानेन्द्रलाई दाेषी करार गर्न थालेपछि उनकाे सचिवालयले असन्तुष्टि व्यक्त गरेकाे छ।
प्रधानमन्त्रीले समेत संसदमा ‘धम्कीपूर्ण’ सम्बोधन गरेपछि देशको राजनीतिक कोर्षमा नयाँ तरंगहरू आएका छन्।
चैत १५ गतेको हिंसात्मक आन्दोलनको मुख्य योजनाकारका रुपमा पूर्वराजा ज्ञानेन्द्रको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले पनि उनै ज्ञानेन्द्र शाहलाई ‘मुख्य योजनाकार’का रुपमा घोषणा गरिदिए।
सोमबार प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्रीले पूर्वराजाको आलोचना गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले आपत्ति जनाएका थिए।
प्रधानमन्त्री बोलिरहँदा राप्रपाका सांसदहरूले होहल्ला गर्न थालेपछि प्रधानमन्त्री ओली आक्रोशित पनि भए। अनि लिखित भाषण रोकेर उनले सांसदहरूलाई हप्पाएको स्वरमा अलि चर्कोगरी बोले।
‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?’ संसदमा सम्बोधन गर्दै ओलीले भनेका थिए ‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ।’
चैत १५ गते काठमाडौं जिल्ला प्रशासनले राजावादीहरूलाई तीनकुनेमा प्रदर्शन र सभा गर्नका लागि अनुमति दिएको थियो।
तर त्यहाँ जम्मा भइरहेका राजावादी प्रदर्शनकारीहरू सभा सुरु नहुँदै प्रहरीसँग भिड्न थाले। त्यही क्रममा भीड अनियन्त्रित हुँदै गयो र झडप पनि भयो। अश्रुग्याँससँगै प्रहरीले गोलीसमेत चलायो भने प्रदर्शनकारीहरू ढुङ्गामुढासँगै तोलफोड र आगजनीमा उत्रिए।
निजी घर, व्यापारिक भवनहरूमा आगो झोस्दै उनीहरूले भाटभटेनीसमेत लुटपाट गरे। एकीकृत समाजवादी पार्टीको कार्यालय अनि छेउछाउमा रहेका सञ्चारमाध्यमका भवनहरूमा समेत तोडफोड र आगजनी गरे।
दिनभरि तीनकुने क्षेत्र रणभूमिजस्तै बन्यो। प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भयो। अनि राजावादीहरूले एउटा घरमा थुनेर पत्रकारलाई जलाएर मारे।
साँझपख प्रशासनले कर्फ्यू नै लगाउनेपर्ने स्थिति आयो।
त्यो हिंसापछि सबैले निर्मल निवासलाई नै दोषी करार गरे। राजनीतिक दलदेखि नागरिक समाजले समेत पूर्वराजा ज्ञानेन्द्रलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरे।
त्यो हिंसामा घाइते भएका दर्जनबढी आन्दोलनकारीको उपचार भइरहेको छ।
त्यो आन्दोलनमा मिसिएका राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणसमेत दर्जनौं अहिले प्रहरी हिरासतमा छन्।
राप्रपाबाट अलग भएर नवराज सुवेदीको नेतृत्वमा आएका केही राजावादीहरूले त्यो आन्दोलनको आयोजन गरेका थिए। र, त्यो दिनका लागि दुर्गा प्रसाईंलाई ‘कमाण्डर’ तोकिएको थियो।
सुरुवातमै उग्र बनिरहेका राजावादीहरूलाई त्यो दिन दुर्गा प्रसाईंले झन् उक्साउँदै आफू भने फरार छन्।
प्रहरीले खोजिरहेको भनिएका प्रसाईंले सोमबारमात्रै दुई वटा भिडियो सार्वजनिक गर्दै आफूलाई मार्ने योजना थाहा पाएपछि आफू लुकेरै बसेको बताएका छन्।
त्यो आगजनी, तोडफोड अनि हत्या र हिंसाको जिम्मेवारी औपचारिकरुपमा अहिलेसम्म कसैले लिएको छैन। राप्रपालगायत अरु पनि राजावादीहरूले त त्यसको जिम्मेवार सरकार आफै भएको भन्दै आएका छन्।
त्यो घटनापछि नवराज सुवेदीलाई गृहप्रशासनले घरमै नजरबन्द गरेको छ। त्यसपछि सुवेदीले राजावादीको आन्दोलन नेतृत्व गर्न जगमान गुरुङलाई जिम्मेवारी दिएका छन्।
पासपोर्ट रद्द गर्ने र गिरफ्तारसमेत गर्ने योजना बनाइरहेको गृहप्रशासनले पूर्व राजा ज्ञानेन्द्रको सुरक्षा टोलीमा हेरफेर गरेको छ। उनलाई पनि घरबाहिर निस्किन दिइएको छैन।
ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने सरकारको योजना रहेको भन्दै राप्रपाका सांसदहरूले त संसद बैठकमा छाती पिट्दै आफूहरूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका थिए।
काठमाडौं महानगरले समेत पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा जरिवाना पत्र काटेपछि राजावादीहरू थप आक्रोशित भएका छन्। स्वंय ज्ञानेन्द्रको निजी सचिवालय पनि त्यसप्रति असन्तुष्ट र आक्रोशित छ।
बिएल नेपाली सेवाले ज्ञानेन्द्रका निजी संवाद सचिव फणिराज पाठकलाई यसबारे प्रतिक्रिया मागेको थियो। त्यसबारे जवाफ दिँदै उनले ‘निर्मल निवास’लाई विवादमा तान्ने प्रयास भइरहेको बताए।
१५ गतेको आन्दोलनका लागि ‘कमाण्डर’ तोकिनुअघि दुर्गा प्रसाईं निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका समाचारहरू सार्वजनिक भएका थिए। प्रसाईं आफैले पनि ज्ञानेन्द्रसँग आन्दोलनका बारेमा कुराकानी भएको र नेतृत्व गर्न स्वीकृति दिएका जस्ता अभिव्यक्ति दिएका थिए।
तर निर्मल निवासले त्यसलाई खण्डन गरेको छ।
पाठकले कसैलाई पनि ‘कमाण्डर नतोकिएको’ भन्दै कुनै दुर्गा प्रसाईंहरूलाई नचिन्ने प्रतिक्रिया दिएका छन्।
‘राजाले कमान्डर तोकेको पनि होइन, प्रदर्शनको आह्वान पनि गरेको होइन’ उनले भनेका छन् ‘निर्मल निवासमा को-को आउँछन्, कति आउँछन्, सबैलाई राजाले आन्दोलन गर्न उक्साएर पठाउछन र?’
उनका अनुसार यो सबै ज्ञानेन्द्र शाहको बदनाम गराउनका लागि रचिएका षड्यन्त्रहरू हुन्।
‘त्यसरी उक्साउने नै भए फागुन २५ को त्यत्रो जनसमुदायलाई भड्काउन सकिन्थ्यो नि!’ पाठक भन्छन् ‘सुझबुझ तरिकाले निर्मल निवासमा लगेर टुङ्ग्याएको हो नि!’
आन्दोलनकै नाममा यति क्रुर हिंसा र हत्या हुँदा पनि किन निर्मल निवास मौन छ? भन्ने प्रश्नमा पाठकले त्यसबारे प्रतिक्रिया दिँदा निर्मल निवासलाई ‘जिम्मेवार ठहर्याउने’ आधार बलियो हुने बताए।
‘यसबारे केही बोल्यो वा मृतकप्रति श्रद्धाञ्जली र समवेदनामात्रै भन्यो भने पनि ल हेर आन्दोलन गर्न उक्साको रहेछ नि! अनि अपनत्व पनि लियो भन्छन्’ उनले भने।
उनले त्यही भएर महानगरको जरिवानापत्र समेत नबुझेको प्रस्टिकरण पनि दिए।
पञ्चायतकालमा समेत सरकारी मिडियाहरूले प्रतिबन्धित प्रजातान्त्रिक दलहरूका गतिविधि समेटेको इतिहास भएको भन्दै उनले अहिले निर्मल निवास र ज्ञानेन्द्र शाहप्रति सबै मिडिया निकै बायस भएको पनि बताए।
‘महानगरको जरिवानाको कुरामा पनि त्यहि लागू हुन्छ जरिवाना तिरे आन्दोलन गर्न उक्साको रहेछ नि भनेर आरोप लगाउछन् फेरि’ पाठक भन्छन् ‘मिडिया असाध्यै बाएस भए, पन्चायत कालमा दलहरु प्रतिबन्धित भए पनि दलका गतिविधि त चलिरहन्थे अहिले पनि राजालाइ समर्थन गर्ने दलहरूका गतिविधि मिडियाले किन कभर गर्दैनन्? खवर त खवर हो नि!’