फिल्म समीक्षा

मान्छे र ड्राइगनबीच सम्बन्धको कथा– ‘राया एन्ड द लास्ट ड्राइगन’

धक खोलेर हाँस्न सक्ने, मन हलुङ्गो हुने गरि रुन सक्ने र सिनेमा समाप्त भएको धेरै समयसम्म पनि त्यसको कथा र घटनाले मस्तिष्कमा बेग्लै किसिमको छाप छोड्न सक्ने सिनेमा हेर्न पाउनु आजको समय अहोभाग्य हो।

वाल्ट डिजनी पिक्चर्स र वाल्ट डिजनी एनिमेशन स्टुडियोले त्यस्तै सिनेमा लिएर आएको छ, जसको नाम ‘राया एन्ड द लास्ट ड्राइगन’ हो। कार्लोस लोपेज़ इस्ट्राडा र डन हलद्वारा निर्देशित र क्वी ग्युयेन र एडेल लिमद्वारा लिखित यो सिनेमामा कुनै नायक वा खलनायक छैन।

सबै पात्रमा खुबी र कमजोरी दुवै छन्। उनीहरु आ–आफ्नो किसिमले जिन्दगीमा अगाडी बढिरहेका छन्। कतैकतै हिन्दु सनातन दर्शन जस्तो लाग्ने यो नै जिवनको वास्तविकता हो।

सिनेमामा एउटा काल्पनिक स्थान ‘कुमाण्ड्राֹ’ को कथा छ। यो ठाउँका मान्छेहरु ‘ड्राइगन’ सँग खुशी साथ बसेका थिए।

अचानक त्यो ठाउँमा एउटा महामारी हुन्छ र सबै मान्छेलाई ड्राइगनले बढो दु:खले बचाउँछन् तर मान्छेहरुले त्यो गुण बिर्सिनाले हाल मान्छे र ड्राइगनहरु छुट्टाछुट्टै बस्छन्। तर सिनेमा कि नायिका रायाले धेरै मिहिनेत गरेर अन्तमा मान्छे र ड्राइगनको मिलन गराउन सफल भएकी छिन्।

राया र उनका साथीले के कस्तो मिहिनेत गरेर असम्भवलाई सम्भव बनाए, त्यो नै सिनेमाको कथा हो। साथै कथा र पटकथाको कुरा गर्ने हो भने लेखकलाई सयमा सय नम्बर दिन सकिन्छ।

यो एनिमेसन सिनेमा बच्चाहरुको साथै ठूला मान्छेको लागि पनि हेर्न लायक छ। वाल्ट डिजनीको सिनेमा पुरा परिवारको साथ हेर्न मिल्ने हुन्छ र यो सिनेमामा अझै दक्षिण एसियाको समाजसँग मिल्ने कथा भएको कारण पनि सिनेमा दर्शनीय बनेको छ।

एनिमेसन सिनेमामा पात्रको व्यक्तित्व अनुसार उनीहरुको आवाज भयो भने सुनमा सुगन्ध हुन्छ। यो सिनेमामा यस्तो छनक पाइन्छ। रायाको आवाज चर्चित अभिनेत्री केली मेरी ट्रानले दिएकी छिन्।

उनको मादक आवाजले नै दर्शक रोमान्चित हुन्छन्। ड्राइगन शिशुको लागि ऑक्वाफिना र टुकटुकको लागि एलेन टुडिकले आवाज दिएका छन्। उनीहरुको अवाज र पात्रको अभिनय हेर्दा उनीहरु कै आवाज हो जस्तो लाग्छ। अरु सहायक पात्रको आवाज पनि कर्णप्रिय छ।

प्राविधिक रुपले पनि यो सिनेमा उत्कृष्ट छ। पात्रहरुलाई पर्दामा पहिलो पटक प्रस्तुत गर्दा एक किसिमको रोमाञ्च पैदा हुन्छ। पात्रलाई एक–एक फ्रेममा जिवन्त देखाइएको छ।

सिनेमाको पार्श्वसंगीत जिन आइकोले दिएका छन्। यो नै सिनेमाको मजबुत खम्बा हो। त्यस्तै एनिमेसन टिम पनि तारिफयोग्य छ। यसको श्रेय टोली प्रमुख जुलिया बार्नरलाई जान्छ। त्यस्तै सिनेमाको संगीत, प्रकाश र ध्वनी पनि उच्च स्तरको छ।

यो सिनेमा भियतनाममा रहेको वाल्ट डिजनीको स्टुडियोमा निर्माण भएको हो। साथै समाजमा सबै तह र तप्कासँग मिलेर बस्नुपर्छ भन्ने सन्देश दिने यो सिनेमा सबैले आफ्ना छोरा–छोरीलाई देखाउन आवश्यक छ। सिनेमाले मनोरञ्जन दिन्छ नै, थोरै भए पनि नैतिक शिक्षा पनि दिएको छ। 

प्रकाशित मिति: : 2021-03-15 16:50:00

प्रतिकृया दिनुहोस्