मोरङमा विभिन्न हातहतियार सहित दुई जना पक्राउ

सशस्त्र प्रहरीले सुनवर्षी नगरपालिका–८ खडेबारीबाट विभिन्न हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ आलम रहेका छन्। उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो। 

थप सोधपुछको क्रममा उक्त हतियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नविन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट पक्राउ गरेको छ। 

उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ।  

साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-08-22 12:12:00

प्रतिकृया दिनुहोस्