अन्तराष्ट्रिय युवा दिवस: युवाले समस्या खोज्ने कि समाधान 

‘देशको जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको छ। युवाभन्दा बृद्ध तथा बालबालिकाको संख्या देशमा कम छ। देश बनिरहेको छैन। देश बिग्रिरहेको छ। किन ?,’ मीरा अधिकारीले भनिन्।

उनले अगाडि भनिन्,‘किनकी हामी युवा देशमा भएको समस्याको समाधान खोजिरहेका छैनौँ। हामी त देशमा भइरहेको समस्या खोजिरहेका छौँ। समस्याका पछि मात्र दौडिँरहेका छौँ। देशमा समस्या छ भन्दै अवसर चाहियो भनेर विदेशीरहेका छौँ। अनि कसरी बन्छ देश ?’

ठुलो स्वरमा मीराले यति कुरा भनिरहँदा हलमा उपस्थितिहरुको ध्यान उनीतिरै केन्द्रीत थियो। उनले युवाहरुले देशमा कसरी अवसरहरु खोज्ने भन्ने विषयको जानकारी दिइरहेकी थिइन। दाङको घोराहीमा आज अन्तराष्ट्रि युवा दिवसका अवसरमा भएको कार्यक्रममा मीराले देशमा अवसरहरु थुप्रै भएको तर्क गर्दै अवसरको प्रयोग गर्न युवाहरु चुकिरहेको दाबी गरिन।

उनले नेपालमै बसेर धेरैले सफलता प्राप्त गरेको बताउँदै युवाहरुमा अहिले आफू के भन्ने उद्देश्य नभएको, प्राविधिक ज्ञानको कमी, आफै ठुलो भन्ने भावनाले गर्दा युवाहरु अवसरबाट बञ्चित भएको तर्क गरिन्। उनको अवसर पाउनका लागि यी कुरासँगै युवाहरुले अरुसँग सम्बन्ध विस्तार गर्न सक्नुपर्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने, युवाहरुमा नयाँपन हुनुपर्ने सुझाब दिइन।

यी गुणहरु युवाहरुमा भएमा देशमा अवसरै–अवसर रहेको मिराको भनाइ छ। मीराको भनाइ जस्तै प्रमोद पन्थी पनि युवाहरुमा नयाँपन हुनुपर्ने बताउँछन्। उनी युवाहरुमा देखावटी बढी भएको भन्दै एउटा विदेश गएमा अरु पनि जानै पर्ने प्रचलन नै भएको तर्क गर्छन।

नेपाल बार संगठन दाङका अध्यक्ष विनोद केसीले युवाहरु असल हुनुपर्ने बताए।

तर, घोराही उपमहानरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको विचार भने अलि फरक छ। उनले युवाहरुमा नयाँपनको कमी भएको स्वीकारर्दै युवाहरुमा यसको खाँचो रहेको बताए। युवाहरुमा नयाँपन भएमा आफै उद्यमी बन्नेदेखि भइरहेका अवसरहरुलाई पनि नयाँ तरिकाले उपयोग गर्न सकिने बताए।

तर, त्यसका लागि सरकारको नीति कस्तो छ भन्नेमा भर पर्ने महाशाखा प्रमुख गौतम बताउँछन्। नेपालमा अवसर नदेखेपछि आफ्नो छोरोछोरी पनि युरोप, अट्रलिया पुगेको जानकारी दिँदै उनले नेपालमा गरिएको रोजगारीले युवाहरु सन्तुष्ट हुन नसक्ने अवस्था रहेको बताए।

उनले आफू नेपाल सरकारको उपसचिव भएपनि छोराछोरीको सरह जीवन जिउन सक्ने अवस्था नरहेको बताए। जसले गर्दा सरकारले युवाहरु अवसर दिने नीति बनाउनुपर्ने उनको बुझाइ छ।

प्रकाशित मिति: : 2022-08-12 18:00:00

प्रतिकृया दिनुहोस्