आज छुटेनन् रवि, प्रहरीको जिम्मा लगाइयो

साहारा चितवन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई  चितवन जिल्ला अदालतले प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ।

बुधबार न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान सकिएर थुनछेक बहस नसकिएपछि इजलासले उनलाई हिरासतमा राख्न आदेश दिएको हो।

लामिछानेलाई भोलि ११ बजे थुनछेक बहसका लागि अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा रविसहित २१ व्यक्ति र संस्थाविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो।

आज चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन्। सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन्।

भोलि ३ जना सरकारी वकिल र रविको तर्फबाट १० जनाले बहस गर्नेछन्।

साहरा चितवन सहकारी ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध  ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रकाशित मिति: : 2025-02-05 17:51:00

प्रतिकृया दिनुहोस्