कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा, मेनपावरकाे लापर्बाहीले अवसर गुम्ने जाेखिम

Breaknlinks
Agency Via thepeninsulaqatar

कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा परेको छ।

कतार प्रहरीको आकर्षक रोजगारीको पूर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको एक टोली पुगेर प्रक्रियाको बारेमा जानकारी लिएको छ। कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको हो।

उक्त विज्ञापनको लागि बैदेशिक रोजगार विभागले नै स्वीकृत गरी लट नम्बर समेत दिइसकेको थियो। एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकालेको मेनपावरले साउन ३०, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो। २०० जनाको डिमान्ड सबै कानुनी प्रक्रिया पूरा गरी पत्रिकामा विज्ञापन निकालिएको मेनपावर कम्पनीले बताएको छ।

उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएको भन्ने सूचना आएपछि विभागको टोली पुगेको थियाे तर त्यहाँ त्यस्ताे नभेटाएको विभागले जनाएको छ। गतवर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको थियो।

विवाद भएपछि र समयमा पठाउन नसकेपछि गतवर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको कतार प्रहरीको २ सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो। गत वर्ष मागपत्र दिए पनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरि हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई २ सय जना कतार प्रहरीको रोजगारी पाइलट प्रोजेक्टको रुपमा दिएको थियो। यो मागपत्र समयमा पूर्ति गर्न नसके नेपालबाट सधैंका लागि कतार प्रहरीको रोजगारी गुम्ने कतार निकट स्रोतले बतायो।

फेरि पनि कतार प्रहरीको रोजगारी विवादमा तानिएको छ।

गत वर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले अन्य देशवाट उक्त माग पूर्ति गरेको थियो। यसपटक पनि गत वर्षकै घटना दोहोरिने सम्भावना बढेको छ।

कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा चल्दै र सेलाउदै आएको छ। यसमा केही मेनपावर व्यवसायी र माफियाहरु उक्त माग आफ्नो हातमा पार्न भरपुर प्रयास गरिरहेका थिए। तर, चर्चाभन्दा हल्ला बढी हुने गरेकाले उक्त आकर्षक रोजगारी अन्य देशमा पुगेको छ। अहिलेसम्म करिब ३०० नेपाली उक्त रोजगारीमा गएका छन।

यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा पुगेका थिए। उनीहरुको कार्य सन्तोषजनक र उत्कृष्ट भएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो। तर, उक्त छनौट प्रक्रियामा विभिन्न चलखेल भएपछि अघिल्लो वर्ष पनि उक्त अवसर नेपालबाट गुमेको थियो। यसपटक पनि सबै कानुनी प्रक्रिया पूरा गरेर नेपाली कामदारलाई उक्त सुवर्ण अवसर दिलाउन खोजको मेनपावर कम्पनीले जनाएको छ। उक्त कम्पनीले हल्लाको पछि नलाग्न नेपाल सरकार, श्रम मन्त्रालय, बैदेशिक रोजगार विभागलगायत सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

अल ताक्वेत ओभरसिजले उक्त रोजगारीमा आफ्नै कम्पनीले पठाउनुपर्छ भन्ने पनि नभएकोले यो अवसर चाहिँ नगुमाउन सरोकारवाला सबै निकायलाई आग्रह गरेको छ। कम्पनीले आफूहरुले कानुनको पुर्णरुपमा पालना गरेर मात्रै कतार प्रहरीमा पठाउन लागेको जनाएको छ।

प्रकाशित मिति: : 2022-08-11 18:05:00

प्रतिकृया दिनुहोस्