मोदी समर्थक भारतीय पत्रकार सुधीर चौधरी ‘आजतक’ जाँदै

‘डीएनए’ नामक कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका भारतीय टेलिभिजन पत्रकार सुधीर चौधरी अब ‘आजतक’मा देखिने छन्। 

भर्खरै ‘जी न्यूज’को सम्पादकीय भूमिकाबाट बिदा लिएका उनी अब ‘आजतक’मा भित्रिने इन्डिया टूडे समूहले जनाएको छ।

आजतक इन्डिया टूडे समूहको एउटा हिस्सा हो। समूहका उपाध्यक्ष काली पुरीले इमेलमार्फत टेलिभिजनका कर्मचारीलाई पत्रकार चौधरी जोडिन लागेको बताएका छन्। 

पूरै दक्षिण एसियामा ‘गोदी मिडिया’का नामले परिचित आजतकले दश करोड दर्शकका लागि नयाँ र रोमाञ्चक कार्यक्रम पनि सञ्चालन गर्ने समाचार निर्देशक सुप्रिया प्रसादले बताइन्। 

चौधरी उनै पात्र हुन्, जसले जी न्यूजमार्फत् गत पुसमा सगरमाथाबारे विवादित सामग्री प्रसारण गरेका थिए। 

उनले काला पत्थरबाट स्थलगत रिपोर्टसहित सगरमाथाको नाम भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा हुनुपर्ने दाबी गरेका थिए। 

पत्रकार चौधरी सगरमाथाको नाम फेर्ने सामाजिक सञ्जाल अभियानका कथित अभियन्ता पनि हुन्। 

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनका लागि अग्रपंक्तीमा उभिने ‘भक्त–पत्रकार’ हुन्। 

धेरै वर्षदेखि कीर्तिमानी टीआरपी जित्दै आएका छन्। हिन्दूवादी र बीजेपी नेता–कार्यकर्ताबाट सहयोग पाइरहेका छन्। 

आजतकका एंकर शुभंकर मिश्राले पनि पत्रकार चौधरीलाई सामाजिक सञ्जालमार्फत् स्वागत गरेका छन्। 

उनी यसअघि ‘जी न्यूज’का लागि प्रधान–सम्पादक तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्थे।
 

प्रकाशित मिति: : 2022-07-11 21:26:00

प्रतिकृया दिनुहोस्