राष्ट्रपति सुटकेस लिएर भागे, अब को बन्छ श्रीलंकाको नयाँ राष्ट्रपति?

Photo - PTI
Photo - PTI

गहिरो आर्थिक संकटकाे सामना गरिरहेको श्रीलंकाले भयानक रूप लिएको छ। आन्दोलनकारीले शनिबार राति राष्ट्रपति भवन कब्जा गरेका छन्।

राष्ट्रपति गोटाबाया राजपक्षे एक हप्तादेखि जनसम्पर्कमा छैनन्। उनी राजधानीभित्रै छन् तर बेपत्ता छन्।

स्रोतका अनुसार राष्ट्रपति गोटाबाया पैसाले भरिएका कैयौं सुटकेस लिएर भागेका छन्। उता प्रधानमन्त्री रनिल विक्रमसिन्घेको निजी घरमा आगजनी भएको छ। लगत्तै प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

श्रीलंकाली जनताले राष्ट्रपतिमाथि पनि राजीनामा दिन दबाब थालेका छन्। त्यसो त सभामुखले अब आफू श्रीलंकाको कार्यवाहक राष्ट्रपति हुने बताएका छन्।

राष्ट्रपति गोटबायाले जुलाई १३ मा राजीनामा दिने जनाएका छन्। श्रीलंका आर्थिक र राजनीतिक संकटमा फसेको छ। आगामी राष्ट्रपतिबारे राजनीतिक वृत्तमा उस्तै अन्योलता छ।

संविधानअनुसार कार्यकाल बाँकी छँदै राष्ट्रपतिले राजीनामा दिएपछि संसदले आफ्ना सदस्यमध्ये कुनै एक सदस्यलाई राष्ट्रपतिमा नियुक्त गर्न सक्नेछ। अनि नयाँ राष्ट्रपतिले बाँकी कार्यकाल पूरा गर्नेछन्।

राष्ट्रपतिले राजीनामा दिएको एक महिनाभित्र नयाँ राष्ट्रपति चयन गर्नुपर्ने छ। यदि राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिएभने, श्रीलंकाले अगस्ट १३ सम्म नयाँ राष्ट्रपति पाउनैपर्छ।

राष्ट्रपतिले राजीनामा दिएको तीन दिनभित्र संसदको बैठक बोलाउनुपर्ने प्रावधान रहेको छ। बैठकमा संसद्का महासचिवले राष्ट्रपतिको राजीनामाबारे संसदलाई जानकारी गराउनेछन्।

राष्ट्रपति पदका लागि एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतपत्र अर्थात् पूर्ण बहुमतबाट नयाँ राष्ट्रपति चयन गरिनेछ।

श्रीलंकामा राष्ट्रपतिले राजीनामा दिएपछि प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्न सक्नेछन्। तर यतिबेला प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। यस्तो अवस्थामा श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयवर्धन कार्यवाहक राष्ट्रपति बन्न सक्छन्।

श्रीलंकाको संविधान अनुसार नयाँ राष्ट्रपति नचुनिएसम्म उनैले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।

श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो।

प्रकाशित मिति: : 2022-07-10 15:29:00

प्रतिकृया दिनुहोस्