उर्लाबारी जलमग्न, बाढीको त्रासमा स्थानीय

अबिरल वर्षापछि  विभिन्न खोलामा आएको बाढीले पूर्वी मोरङका धेरै जसो गाउँ–सहर जलमग्न भएका छन्। 

मावामा आएको बाढीले उर्लाबारी डुवानमा परेको छ। उर्लाबारीका मावासँग जोडिएका वडामा खोलाको पानी पसेको छ। उर्लाबारीका वडा नम्बर ५, ६, ७ र ९ वडामा मावाको पानी पसेको छ भने वडा नम्बर १, ४, ८ मा बक्राहा नदीको पानी पसेको छ। 

वडा नम्बर ३ मा सोल्टी खोलाले दुःख दिएको छ। उर्लाबारीका नगर प्रहरी प्रमुख याम कार्कीका अनुसार मुख्य बजारमा नै ३ फिट पानी जमेको छ। कार्कीले अधिकांश पसल, ग्यारेज र निजी घरहरूमा पानी पसेको जानकारी दिएका छन्।

उता उर्लाबारी–९ को वोर्डरलाइनबाट रातिदेखि नै मावा खोला गाउँ पस्न थालेको स्थानिय पुजन सुब्बाले बताएका छन्। खोला किनारका अधिकांश घर गोठ डुवानमा परेका छन्।

उर्लाबारी–९ कै माहाराजस्थानमा बाढीले कटान सुरु गरेको र बाध भत्काउन सुरु गरेको स्थानिय रन्जिता मगर राइले बताइन्। उनले भनिन्, 'पानी पर्न नरोकिने भए खोला पसेर बगाउछ होला।'

खोला बजार र गाउँ भित्र छिरे पनि हालसम्म कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताएका छन्।

प्रकाशित मिति: : 2022-06-29 07:13:00

प्रतिकृया दिनुहोस्