नेकपा विवाद

प्रधानमन्त्री ओलीले प्रचण्डलाई रिझाउन दुई वर्षमा ३०६ पटक भेटवार्ता गरे (भेटघाटको पूर्ण विवरणसहित)

Breaknlinks
Breaknlinks

प्रधानमन्त्री केपी शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग दुई वर्षको अवधिमा तीन सय ६ पटक भेटेर छलफल गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले उक्त भेटहरुमा प्रचण्डका निजी आकांक्षा पूरा गर्ने विषयमा छलफल केन्द्रित भएको आरोप लगाएको छ ।  

०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री बनेका थिए । त्यसको तीन महिनापछि ०७५ जेठ ३ गते साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । ओली प्रधानमन्त्री भएको करिब एक वर्ष दुई अध्यक्षबीचको सम्बन्ध समान्य थियो । 

०७५ पुस १ गतेदेखि २०७७ पुस ५ गतेसम्मको भेटघाट रेकर्ड यहाँ समावेश छ। रेकर्डअनुसार, पछिल्लो दुई वर्षमा मात्र प्रचण्ड बालुवाटार गएर ३०५ पटक भेटघाट भएको छ । अधिकांश भेटवार्ता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका  व्यक्तिगत महत्वाकाङ्क्षा सम्बोधन गरी समय बर्वाद पारेको स्वयम् प्रधानमन्त्री ओलीले सार्वजनिक गरिसकेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयको अभिलेख अनुसार, भेटवार्ताको रेकर्डमा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालसहितमा थप २६ भेट भएको देखिएको छ । प्रधानमन्त्री ओलीले जनादेशअनुरुप देशको काम गर्नभन्दा पनि नेताहरुका यस्ता महत्वाकांक्षाको ब्यवस्थापनमा समय खेर फाल्नुपरेको बालुवाटार स्रोतको दाबी छ ।

संसारका लोकतान्त्रिक मुलुकहरुमा सरकार प्रमुख वा राष्ट्र प्रमुख भएपछि सक्रिय राजनीतिबाट अवकाश लिने गर्छन् । नेकपाभित्र भने चार जना पूर्वप्रधानमन्त्री छन् । ओली दोस्रोपटक प्रधानमन्त्री भएका हुन् । प्रचण्ड पनि दुई पटक प्रधानमन्त्री भइसकेका पूर्वप्रधानमन्त्री हुन् । नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि पूर्वप्रधानमन्त्री हुन् । 

साविक नेकपाका सचिवालय सदस्य रहेका ९ जनामध्ये सात जना पूर्व पार्टीप्रमुख भइसकेकाहरू छन् । ओली सात वर्षअघि एमाले अध्यक्ष भएका हुन् भने प्रचण्ड ३२ वर्षदेखि पार्टी प्रमुख छन् । त्यसबाहेक वरिष्ठ नेता नेपाल १४ वर्ष एमालेको प्रमुख भइसकेका छन् । खनाल पनि १३ वर्ष एमालेको पार्टीप्रमुख भइसकेका छन् । उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पनि आआफ्नो समूहका प्रमुख भइसकेका नेता हुन्। 

पूर्व पार्टीप्रमुख र पूर्व सरकार प्रमुखको निजी महत्वाकाङ्क्षा व्यवस्थापन गर्नमै ओलीको महत्वपूर्ण दुई वर्ष खेर गएको उनी पक्षधरको आरोप छ ।

(भेटघाटकाे पूर्ण विवरण)

प्रकाशित मिति: : 2021-01-18 15:04:00

प्रतिकृया दिनुहोस्