ग्रामीण भेगका अधिकांस मानिसहरू जुत्ता–चप्पलबिनै घरभित्र पस्छन्। अनि मन्दिर छिर्दापनि जुत्ता–चप्पल खोल्छन्। याे दृश्य नेपाली वा भारतीयहरूका लागि सामान्य मानिन्छ।
तर एउटा यस्तो ठाउँ छ! जहाँका स्थानीयहरू सडकमा पनि जुत्ता–चप्पल लगाउँदैनन्। अर्थात् घरबाहिर पनि खाली खुट्टै हिँड्छन्। हातमा जुत्ता–चप्पल उचालेर हिँड्नु उनीहरूको रहर होइन बाध्यता हो।
गाउँमा हिँड्डुल गर्दा जुत्ता वा चप्पल लगाए उनीहरूमाथि कारबाही हुने अनौठो धार्मिक नियम छ। ताकि स्थानीयहरू जुत्ता–चप्पलबिनै हिँडून्।
भारतको तमिलनाडुस्थित अण्डमान गाउँ आफैमा अचम्मलाग्दो छ। यहाँका मानिसहरूले गाउँलाई नै भगवानको घर मान्छन्। अण्डमान गाउँ चेन्नईबाट करिब साढे चार सय किलोमिटर टाढा छ। गाउँमा करिब एक सय तीस परिवार बस्छन्, जसमध्ये अधिकांश किसान छन्। खेतीपाती गरेर जीवन निर्वाह गर्छन्।
गाउँको प्रवेशद्वारमा एउटा ठूलो रुख छ, जहाँ मानिसहरू भगवान ठानेर पूजा गर्छन्। जुत्ता वा चप्पल खोल्छन्। अनि जताततै भेटिन्छन्, खाली खुट्टै हिँडिरहेका– मानिस। उनीहरूको धर्मप्रति ठूलो आस्था छ। भन्छन्– गाउँ नै मन्दिर हो।
स्थानीयको विश्वास छ– जुत्ता वा चप्पल लगाएर जो धार्मिक स्थलमा आउँछ, उसलाई भगवानले दण्ड दिन्छन्। उच्च ज्वरो आउनेछ। ठूलो रोग लाग्नेछ। जसको कुनै नै उपचार छैन।
तर, अण्डमानका जेष्ठ नागरिकहरू भने चर्को गर्मी मौसममा दिउँसोतिर खुट्टामा जुत्ता–चप्पल लगाउन पाउँछन्। यसबाहेक कसैले पनिि नियम तोड्दैनन्। कडा कारबाही भोग्न चाहदैनन्। गाउँको नियम सबैले मान्छन्।