तनहुँका सीताप्रसाद सुवेदी गह्रौँ झोला बोकेर ठूटे खोलातिर अघि बढ्दै गर्दा उनीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नजर पर्यो। उनको झोलामा दस किलो चिनी र केही खाद्यान्न थियो।
जाँच गरेपछि एसएसबीले उनलाई अघि बढ्न स्वीकृति दियो।
भारतमा पर्ने भिखनाठोरीको तल्लोपट्टिबाट बग्ने ठूटे खोलाको किनारमा झोला बिसाएर उनले जुत्ता खोले। जुत्ता हातमा लिएर खोला तर्दै नेपालको ठोरी पुगे।
ठोरी नाका करिब पाँच दशक अघिसम्म निकै चल्तीको थियो। यहाँ भारतबाट आउने नुन, खाने तेल, मट्टितेल, चिनी इत्यादि लिन देशका विभिन्न ठाउँबाट मानिसहरू पुग्थे।
पारि भिखनाठोरीसम्म रेल र मालबाहक गाडीहरूले सामान ल्याउँथे। त्यहाँबाट नेपाली र भारतीयले सामान बोकेर ठोरी ल्याउँथे। पहाडी जिल्लाहरू तनहुँ, गोरखा, लमजुङका अधिकांश व्यापारीहरू सामान किन्न भरिया लिएर ठोरी पुग्थे। उपभोक्ताहरू पनि आउँथे।
एकातिर भारत र तीनतिर नेपालको घना जंगलले घेरिएको ठोरी पुग्न सहज थिएन। जंगलका डरलाग्दा जनावर छल्दै मानिसहरू खाद्यान्न र अन्य सामग्री खरिद गर्न पुग्थे।