हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले ७ वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने बताएका छन्।
'हामीले हिमाका सम्पूर्ण नागरिककाे आधारभुत स्वास्थ्य सेवामा पहुँचमा विस्तारका लागि वडामै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएका छाैं,' उनले भने, 'यसका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने प्रतिबद्धता गरेका छाैं।'
अध्यक्ष शाहीले उपाध्यक्ष सुर्पना शाही, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा, स्वास्थ्य शाखा प्रमुख रतन बहादुर रावत, विषयगत शाखा प्रमुख र स्वास्थ्य संस्थाका इन्चार्जहरुको संयुक्त बैठक राखि जनतालाई विश्वस्त पार्न प्रतिबद्धता गरेका हुन।
उनका अनुसार स्वास्थ्य सेवालाई सर्वसुलभ र नागरिक मैत्री बनाउन प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरि सेवा दिइनेछ।
अब हिमामा त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने, अर्ध वार्षिक रुपमा आँखा शिविर संचालन गर्ने, घरमा हुने सुत्केरीलाई शुन्यमा झार्ने गरि तयारी गरिएकाे अध्यक्ष शाहीले बताए।
'अहिले पनि घरमै सुत्केरी गराउने प्रचलन छ। जसले जाेखिम बढी हुन्छ,' उनले भने, 'यसलाई कम गर्दै स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा आमा र शिशु दुबैलाई स्वस्थ्य राख्न सकिन्छ।'
नागरिकसामु गरिएका प्रतिबद्धता सँगै हिमामा अब जेष्ठ नागरिकले घरदैलोमै स्वास्थ्य परिक्षण परिक्षणकाे सेवा पाउनेछन्, हिमा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ भने अपाङ्ग, असहाय र गर्भवति तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारले निःशुल्क रुपमा एम्बुलेन्स सेवा पाउनेछन्।
प्रत्येक महिनाको पहिलो दिन स्वास्थ्य सरसफाई कार्यक्रम संचालन गर्ने र अन्तिम दिन आधारभुत तथा माध्यमिक विद्यालयहरुमा किशोर किशोरीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरिने शाहीले बताए।
'शुरुवाती दिनमा निर्णय गरेजस्ताे मात्रै देखिए पनि अब कार्यान्वयनकाे प्रक्रिया अगाडि बढ्नेछ,' उनले भने, 'बाल विवाह, बहुविवाह, छुईप्रथा, यौन हिंसा, घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध तथा विकृतिहरुलाई न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम पनि सँगै संचालन गरिनेछ।'
सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट, विद्युतीय हाजिरी, सिसि क्यामरा, सोलार सिष्टम जडान गरि संचालन गर्ने, सुत्केरी महिलाहरुका लागि उपाध्यक्ष (पोषण कोसेली) कार्यक्रम संचालन गर्ने, हिमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरु नियमित रुपमा प्रभावकारी सेवा संचालन गर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएकाे छ।
हिमाका सबै बस्तिहरुमा घुम्ती स्वास्थ्य सेवा संचालन गर्ने र १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि प्रक्रिया अगाडी बढाउने निर्णयहरु भएको अध्यक्ष शाहीको भनाइ छ।