नेपाली राजनीतिमा महिलाको संख्यामा आएको सहभागिता पहिलाको दाँजोमा सकारात्मक छ। इतिहास र महिला आन्दोलनहरूलाई हेर्दा महिलाले अधिकार पाउन गरेको संघर्ष सबैसामु ज्वलन्त नै छ।
२००४ सालको काठमाडौं म्युनिसिपालिटीको निर्वाचनमा मताधिकारबाट समेत वञ्चित महिलाहरू हाल नेतृत्व तहको पदमा उम्मेदवारको दाबेदार छन्। जसको एकमात्र कारण लोकतान्त्रिक राजनीति हो। राजनीतिले नै नेपालको हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्छ।
राजनीति समाज रूपान्तरणका लागि हुनुपर्ने हो। त्यो हुन सकेन। पेसागत राजनीतिकर्मीहरूको स्वार्थ पूरा गर्ने एक शक्तिशाली माध्यम मात्र बन्न पुग्यो। जसको कारण नेपाली समाजको उन्नति प्रगति र विकास भएन र भ्रष्टाचार मौलायो।
सामाजिक परिवेशअनुरूप हाम्रो राजनीतिक परिवेशमा आजभोलि कताकता परिवर्तन भने आएको पाइन्छ। नेपालको उच्च तह र ओहोदामा महिलाको प्रतिनिधित्व देख्न पाउनु समाज रूपान्तरण हो।
यतिमै सन्तुष्ट भने हुन सक्ने अवस्था छैन। किनकि महिलाका समस्या र भोग्नुपरेका कानुनी, सामाजिक, सांस्कृतिक, लैंगिक विभेदमा भने तात्विक परिवर्तन आएको छैन। यस प्रवृत्तिलाई न्यूनीकरण गर्न महिलाले राज्यका हरेक निकायमा पुरुषसरह प्रतिनिधित्व गर्ने अवसर महिलाले पाउनुपर्छ।
हरेक निकाय र संयन्त्रमा अपनत्वको प्रत्याभूति दिलाउन राजनीतिमा समेत महिलाको कार्यकारिणी भूमिका हुनुपर्छ। संख्यात्मक रूपमा हरेक क्षेत्र र विधामा महिलाको सक्रिय सहभागिता देखिन्छ।