समीक्षा

तीनपुस्ते महिलाकाे अन्तरद्वन्द्व कथा ‘त्रिभंग’

कुनै समय ‘दुरदर्शन’को चर्चित कार्यक्रम ‘सुरभी’की सहप्रस्तोता रेणुका शहाणेद्वारा लिखित र निर्देशित तथा अभिनेता अजय देबगणद्वारा निर्मित ‘त्रिभंग’ नेटफ्लिक्समा हालै रिलिज गरिएको छ।

प्रायः हिन्दी सिनेमाहरुमा नायिकाको चरित्र नायकसँग प्रेम गर्ने मात्र हुन्थ्यो तर आजकाल नायिकाप्रधान सिनेमाहरु पनि निर्माण हुन् सुरु गरेका छन्। 

त्रिभंग पनि यस्तै सिनेमा हो, यो सिनेमामा अभिनेत्री काजोलको प्रमुख भूमिका छ। अनुहारदेखि मस्तिष्कसम्म बाङ्गोटिङ्गो भएको र कामुक युवतीको कथा रहेको यो सिनेमाले बिमल रायको पुराना सिनेमाहरुको सम्झना आउँछ।

यो सिनेमाले एउटा बहसको जन्म दिन्छ। तीन पिढीको महिलाहरुको कथा रहेको यो सिनेमामा हजुरआमा, छोरी र नातिनीको कथा छ। सासुको दैनिक गालि खाएर पनि केहि नबोल्ने हजुरआमा, चर्चित लेखिका र पति को अत्याचार सहन नसकेर घरबाट निस्कने छोरी र नृत्यमा आफ्नो जिन्दगी देख्ने नातिनीले समाजमा चलेका प्रचलित परम्पराहरुलाई नाघ्ने प्रयास गरेका छन्। 

हजुरआमा र आमाभन्दा प्रायोगिक नातिनीको अन्तरद्वन्द्वको कथा हो त्रिभंग। पुरुषप्रधान समाजमा त्यही समाजसँग लड्न के कस्ता दुःख कष्ट सहनुपर्छ यो सिनेमामा देखाइएको छ।

निर्देशक शहाणेले यो सिनेमामा बिभिन्न प्रकारको प्रयोग गरेकी छिन्। महाराष्ट्र र मुम्बईको पृष्ठभूमिको कथा रहेको सिनेमामा लामोलामो दृश्य र मराठी भाषाका सम्बादहरु छन्। 

सिनेमा ‘ए सर्टिफिकेट’ अर्थात बयस्कहरुको लागि भएर होला सम्बादमा आमा चकारी गालि प्रशस्त रहेको छ। 

नायिकाले आफ्नो परिवारको सदस्यहरुलाई तथानाम गालि गरेको सुन्दा दर्शकलाई अच्चम लाग्ला तर यस्तो हुन्छ अचेल। मुम्बईमा रहने दर्शकहरुले बुझे पनि त्यस्तो वातावरण नबुझेकाहरुलाई सिनेमा छेउ न टुप्पोको लाग्छ।

यो सिनेमाको निर्माता अभिनेता अजय देबगण हुन् र उनले नायिका काजोल आफ्नो श्रीमती भएपनि यस्तो बिबादास्पद सिनेमा निर्माण गर्नु उनको कलाप्रतिको लगाव झल्किन्छ। 

योभन्दा अगाडी काजोलले ‘हेलिकप्टर इला’मा पनि महिला चरित्रको स्तरलाई उच्च पुर्याउने प्रयास गरेकी छिन्। अरुको भर परेर भन्दा आफ्नै इच्छामा जीवन बाच्ने महिलाहरुको समर्थन गर्ने यो सिनेमामा काजोलको अभिनय गज्जबको छ।

अभिनयको कुरा गर्दा काजोलबाहेक मिथिला पालकरले पनि उत्कृष्ट अभिनय गरेकी छिन्। अन्य कलाकारहरु तन्बी आजमी र कुणाल रोय कपुरले पनि उत्कृष्ट अभिनय गरेका छन्। अन्य कलाकारहरु साधारण छन्। 

सन्जय चौधरीको सङ्गीत, बाबा आजमीको सिनेमोटोग्राफी र जीवन मर्चेन्टको सम्पादन पनि उच्च स्तरको छ। नायिकाको चरित्रलाई सशक्त बनाउन सिगरेट र गालिको प्रयोग गर्नुबाहेक अरु सबै हेर्न लायक छ। 

प्राविधिक रुपले जति उत्कृष्ट भएपनि नेपाली दर्शकहरुको लागि यो सिनेमाले कुनै मनोरञ्जन दिन सक्दैन, किनकी भाषा र परिवेश नबुझ्ने कारण यो सिनेमा हेर्नु ब्यर्थ छ।

प्रकाशित मिति: : 2021-01-19 12:12:00

प्रतिकृया दिनुहोस्