मलाई किन–किन यो कुरामा विश्वास नै लाग्दैन। लाग्दैन, आमा भगवान जस्तो हुन सक्छिन भनेर। लाग्दैन, आमाले भगवानले जस्तो काम गर्न सक्छिन भनेर। किनभने, आमाले त त्यो काम गर्न सक्छिन, जुन काम भगवानले गर्न सक्दिनन्। आमा त त्यो हुन जो भगवान होइनन्। आधा पेट खाएर सन्तानको पेट भर्ने आमा। आफू खाली खुट्टा हिँडेर सन्तानको खुट्टामा चप्पल किनिदिने आमा।
थाहा छैन किन दाज्छन मानवहरु भगवानसँग आमालाई। के भगवानले आमाले जस्तो काम गर्न सक्छन र ? के साच्चिकै भगवानसँग पनि आमा जस्तो मायाको खानी हुन्छ र ? मलाई त लाग्दैन भगवान त्यति माथि छन्। मलाई लाग्छ भगवानले त बरु आमालाई ढोग्न पर्छ। मलाई त लाग्छ भगवानले पनि आमालाई त्यसरी मान्नु पर्छ, जसरी संसारको मान्छेले भगवानलाई मान्छन्।
९ महिना कोखमा राखेर, १० वर्ष काखमा राखेर, अलिअलि औँला समाउँदै तातेताते गराएर, आफूले नखाई–नखाई आफ्नो सन्तानलाई खुवाएर, आफूले थोत्रो/महिलो च्यात्तिएको लुगा लगाएर, सन्तानलाई रहर लाग्दो लुगा किनिदिने क्षमता आमाभन्दा अरु कसमा होला र ? बिस्तारै जब सन्तान ठूला हुँदै जान्छन् पढाउँदै अगाडि बढाउँदै आफूलाईभन्दा अगाडि राखेर आफूलाईभन्दा बढी माया गर्ने मन कहाँ अरुको हुन्छ र ? साँच्चिकै आमा महान छिन्।
खै किन मानिन्छ आमाको मुख हेर्ने दिनलाई खास रूपमा ? म त भन्छु यहाँ वर्षमा ३ सय ६५ दिन नै आमाको मुख हेर्ने दिन हुनुपर्ने। यहाँ एकैछिन आमा घरमा नहुँदा त घर घरजस्तो त हुन्न। सहर सहर जस्तो हुन्न। अनि किन वर्षको एकदिन खास त आमाको लागि। यहाँ हप्तामा एकदिन सबैलाई बिदा हुँदा आमालाई वर्षभरि पनि एकदिन बिदा भएको हुँदैन। न त आमालाई दशै आयो, न त तिज नै आयो, न त आमाले धेरै काम गर्नु परेर अँध्यारो मुहार लगाइन, न त कहिले आफू बिरामी भएको कुरा अरुको अगाडि नै सुनाइन। अनि किन यो एकदिनलाई यति खास भनेर चिनाएको होला ? जब उनले यो दिन पनि बिदा पाउन्निन।
जब–जब म आमालाई देख्छु तब–तब अनेक प्रश्नको जालो मेरो मनमा गएर बस्छ जुन जालो निकाल्न धेरै प्रश्नको जवाफ मैले आफैले खोज्नुपर्ने हुन्छ। जुन प्रश्नको जवाफ सायद आमाले मात्र दिन सक्छिन होला। मैले आमालाई धेरै पटक नसोधेको पनि होइन। उनले जवाफ नदिएकी पनि होइनन्। तर, भनिन्छ नि यो संसारमा सबैभन्दा बढी झुट बोल्ने पनि आमा हुन र झुट बोल्न हुन्न भनेर सिकाउने पनि आमा हुन भनेर। हो, यही कुराले गर्दा पनि मलाई आमाको खासै विश्वास लाग्दैन। मैले धेरै पटक सोधेको थिएँ। आमा तिमी किन थाक्दैनौ ?
आमा तिमी किन रुदैनौ ? आमा तिमी किन बिरामी पर्दैनौंं ? तर, मैले जति पटक यी प्रश्नहरु आमाको अगाडि पस्किए पनि आमाले फरक–फरक उत्तर दिन्छिन। खै उनी अन्जान छिन कि मलाई अन्जान गराउन चाहान्छिन यो कुराहरुबाट। बेला–बेला त मलाई लाग्छ आमा स्वार्थी पनि छिन् किनभने उनी जवानीमा आफ्नो ख्याल गर्दिनन। र, पछि बुढेस्कालमा जब केही नसक्ने हुन्छिन् तब आफ्ना सन्तानहरुबाट केही आशा राख्छिन।
सायद यही स्वार्थकै कारण पनि होला उनी जवानी भर खाईनखाई गरेर सन्तानलाई जवानीमा ल्याउछिन र बुढेस्कालमा तिनै जवान सन्तानहरुकै हातबाट वृद्धाआश्रम जान्छिन। तब सम्झिन्छिन उनले सन्तान सानो छँदा हात समाएर स्कुलसम्म लगेको, आफ्नो सन्तानलाई स्कुलमा एक्लै बस्न मन लागेन भनेर आफू दिनभर स्कुलको गेटमा बसेको, दिनभरी स्कुलमा बसेकै कारण काम छुटेर रातको निन्द्रा भुलाएर काम गरेको। आज जब सन्तानले टाढाबाट घिनाउँदै औषधि फालिदिन्छन तब सझिन्छिन उनले आफ्नो सन्तानले सानो छँदा आफ्नै काखमा बान्ता गरिदिएको।
जब सन्तानले आज आफ्नो लुगा आफै धुन नसक्ने भन्दै रिसाएर कराएका हुन्छन तब सम्झिन्छिन उनले सन्तानहरु सानो हुँदा लुगामा नै दिसा पिसाब गरिदिएर दिउँसोमा ती लुगा धुन नभ्याउँदा राति आफू नघिनाई त्यही लुगामा सुतेर भोलि बिहानको निन्द्रा भुलाएर सबेरै उठेर लुगा धोएको। र, उनी चाहान्छिन आफ्नो सन्तानले पनि आफूलाई धेरै माया गरोस् भनेर। आखिर केही दिएर केही कुराको चाहा गर्नु पनि त स्वार्थ नै हो। जुन स्वार्थ आमाले गर्छिन। आफूले माया गरे बापत आफ्ना सन्तानहरुसँग पनि माया नै खोज्छिन। हो, यही नै त स्वार्थ हो। यसैले त भनिन्छ, आमाको मनमा माया सँग–सँगै स्वार्थ पनि लुकेको हुन्छ भनेर।
तर, साच्चिकै भन्नु पर्दा आमा जस्तो महान यस संसारमा कोही छैन। अरुसँग आफ्नो खुसी साटिन्छ भने आमासँग दु:ख साट्न सकिन्छ। अरुसँग हास्न सकिन्छ भने आमासँग रुन सकिन्छ। कहाँ आमालाई अरुसँग दाज्न मिल्छ र ? कहाँ आमालाई केही दिन सकिन्छ र ? आमाबाट त बस लिने हो! माया, संस्कार, र साथ। तर, सन्तान सायद कहिले ठूलो हुन सक्दैन क्यारे ! यसैले होला आजसम्म कहिले सन्तानले आमालाई केही दियो भनेर देख्न र सुन्न नसकिएको। यसैले होला सन्तान आमाको अगाडि धेरै पटक रुदा पनि आमा सन्तानको अगाडि कहिले नरोएको।
आज म एक्लो चार भित्ताले घेरिएको अँध्यारो कोठामा छु! जसलाई सहर भनेर चिनिन्छ। तर, आज आमा यस सहरमा नभएर होला क्यारे यो भीडभाड सहर शुन्य लाग्छ। आमा नभएरै होला क्यारे यहाँ सबै भएर पनि नभए जस्तो लाइरहेको। सायद आमा यहाँ नभएर होला यी चारभित्ताले सधैँ मलाई गिज्ज्याइरहेको। छन त यहाँ मैले यी चारभित्ता भरि नै भगवानको फोटो टासेको छु। तर, भगवान र आमामा धेरै फरक छ क्यारे ! यसैले त होला यी भगवानका फोटहरुले यी भित्तालाई मलाई गिज्याउँदा पनि नरोकेको तर मलाई लाग्छ आमा यहाँ भएकी भए न यी भित्ताले गिज्याउँथे होला मलाई। न यो सहर शुन्य हुन्थ्यो होला मेरो लागि। किनभने मैले देखेको छु गाउँमा म आमासँगै हिँड्दा कसैले नगिज्ज्याएको। मैले देखेको छु म आमासँगै हुँदा गाउँ नै रमाइलो भएको।
त्यसैले त मलाई भगवानभन्दा ठूलाे लाग्छ किनभने जे काम आमाले गर्न सक्छिन त्यो काम भगवानले गर्न सक्दैनन।