दार्चुलामा कांग्रेसका बागी उम्मेदवारले लिए मनोनयन फिर्ता 

दार्चुलाको महाकाली नगरपालिकामा बागी उम्मेदवारी दिएका कांग्रेसका कार्यकर्ताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शुक्रबार उम्मेदवारी फिर्ता लिने कार्यतालिका अनुसार महाकाली नगरपालिकामा नौ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए।

कांग्रेसले महाकाली नगरपालिकाको नेतृत्वमा पुरानै उम्मेदवारलाई अघि सारेपछि असन्तुष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। नेपाली कांग्रेस दार्चुलाको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेकी आनन्दी पन्त भट्टले महाकाली नगरपालिकाको उपप्रमुख पदमा बागी उम्मेदवारी दिएकी थिइन्। 

पार्टी नेतृत्वको दबाब र आफ्नो राजनीतिक करियरका कारण उनले उम्मेदवारी फिर्ता लिएकी छन्। अन्य बागी उम्मेदवारले पनि पार्टी नेतृत्वको दबाबका कारण उम्मेदवारी फिर्ता लिएका छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार महाकाली नगरपालिका-३ बाट वडाध्यक्षका उम्मेदवार प्रेमसिंह महरा, वडा सदस्यका उम्मेदवार माधवप्रसाद भट्ट र देवसिंह महरा तथा वडा नम्बर ५ बाट उम्मेदवारी दिएका लोकमणि ठगुन्नाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

महाकाली नगरपालिका-६ मा गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा जितेका चक्रसिंह बोहराले समेत यस पटक वडाध्यक्ष पदका लागि बागी उम्मेदवारी दिएका थिए। उनले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

महाकाली नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा माओवादीका बागी उम्मेदवार नवराज जोशी र वडा नम्बर ८ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार चक्रसिंह विष्टले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

त्यसैगरी मालिकार्जुन गाउँपालिकामा नेकपा समाजवादीबाट एक जना वडाध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मालिकार्जुन गाउँपालिका निर्वाचन अधिकृत ओमप्रसाद भट्टराईले जानकारी दिए। मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार कलावतीदेवी धामीले उम्मेदवारी फिर्ता लिएकी छन्। बिरा दत्त भट्ट 

 

प्रकाशित मिति: : 2022-04-29 19:36:00

प्रतिकृया दिनुहोस्