हिमालको सुन्दरता तस्वीरमा हेर्न जति सजिलो छ, नजिक पुगेर दृश्यावलोकन गर्नु त्यति सहज छैन। सबैलाई मोहित पार्ने पूर्व-मेचीदेखि पश्चिम-महाकालीसम्म लहरै फैलिएका मोती झै चम्किला हिमालको दृश्यले जो कोहीलाई स्वर्गको अनुभूति गराउँछ।
धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन्, नसके कम्तिमा सगरमाथाको आधार शिविर (५,३६४ मिटर)को उचाईमा भएपनि पुग्ने धोको राख्छन्। विश्वमै लोकप्रिय पदमार्ग सगरमाथा आधार शिविर अर्थात एभरेष्ट वेस क्याम्प ट्रेक (इबिसी)मा वर्षेनी ५० हजारभन्दा धेरै विदेशी पुग्ने गर्छन्।
शेर्पा संस्कृति, हिम झरनाको दृश्य, ऐतिहासिक बौद्ध गुम्बाको दर्शन तथा हिम नदीहरुको मनोरम दृश्य, हिमाली जनजीवन र विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखमा पुगिने भएकोले यो ट्रेक विदेशी पर्यटकमाझ अति लोकप्रिय छ। ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२० मा विश्वका १० उत्कृष्ट पदमार्गको सूचीमा समेत उल्लेख गरेको छ।
गत वर्षको अन्त्यदेखि चीनबाट सुरू भएको कोरोना महामारीले विश्वब्यापी रूप लिएसँगै नेपालको पर्यटन क्षेत्र दुबै सिजन लगभग सुनसान रह्यो। करिब ८ महिनापछि अन्तर्राष्ट्रिय क्षेत्रमा लकडाउन केही खकुलो भएसँगै नेपालले पनि यात्रा प्रतिबन्ध सहज बनायो।
यद्यपि सरकारले बनाएको झन्झटिलो नियम पालना गरेर विदेशी पर्यटक नेपाल आउन सहज बनेको छैन।
नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकले ७२ घण्टाभित्र कोरोना नेगेटिभ रिपोर्ट, ७ दिन होटलमा क्वारेन्टिन बस्नुपर्ने, कोरोना बिमालगायत नियमले पर्यटक नेपाल आउन सहज नभएको पर्यटनकर्मीको गुनासो छ। यसका साथै कोरोनाको जोखिम कम गर्न भन्दै विभिन्न पदमार्गमा पर्ने स्थानीय निकायले ट्रेकिङमा आउने पर्यटकलाई सुरक्षा उपाय अपनाउन ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य लगायतका निमय राखेपछि पर्यटक आउन आनाकानी गर्छन्।
यसैबीच हालै मलाई अस्ट्रेलियाका कुटनीतिज्ञ जेम्स हेजललाई सगरमाथा आधार शिविरको ट्रेक गराउने अवसर जुर्यो। विद्यार्थीकालमा सन् १९९६ मा अन्नपूर्ण र धौलागिरीको पदयात्रा गरेका उनलाई सगरमाथा आधार शिविर जाने उत्कट चाहना रहेछ। उनी अघिल्लो वर्ष मार्चमा नेपालका लागि अष्ट्रेलियाली कुटनीतिज्ञका रूपमा काठमाडौं आएका थिए।
उनले सगरमाथा आधार शिविर पदयात्रामा जाने व्यवस्था मिलाउँदै गरेको बेला नेपाल सरकारले लकडाउन गर्दै सबै सीमा नाका बन्द गर्यो। त्यसपछि नेपालमा अड्किएका करिब ११ सय अष्ट्रेलियाली नागरिकलाई देश फिर्ता गर्न निकै व्यस्त भएकोले मौका जुरेनछ।
लकडाउन झनै लम्बिदै गयो। कुटनीतिज्ञ भएकोले यात्राको औपचारिकताको सम्पूर्ण कागजपत्र र इजाजत अष्ट्रेलिया र नेपाल सरकारबाट प्राप्त भएपछि २८ अक्टोवर (दशै टिकाको भोलिपल्ट) पदयात्रामा निस्कने योजना बनेको जानकारी पाएँ। तर ४ नोभेम्बरदेखि यात्रा सुरू भयो।
यसअघि असारमा रसुवा–नुवाकोट पर्यटन समाजले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ को अध्ययन अवलोकन भ्रमण एक हप्ताको लागि सहभागी हुनुबाहेक लकडाउनको पुरै समय काठमाडौं मै बसेको थिए। सगरमाथा आधार शिविर जाने पक्का भएपछि कोरोना परीक्षण र यात्राको चाँजोपाँजो मिलाउन थालेँ।
हामीले काठमाडौंदेखि लुक्लासम्म तारा एयरमा टिकट लियौँ, हाम्रो यात्रा सुनिश्चित भयो। अघिल्ला वर्षहरूमा यसरी अघिल्लो दिन सहज रूपमा टिकट प्राप्त गर्न सम्भव थिएन। लुक्लामा धेरै पर्यटक जाने समयमा हामी यात्रा गर्दैथियौँ। त्यसको विकल्प सडक यातायातमार्फत सोलु सल्लेरी जान भने सकिन्थ्यो तर त्यताबाट जाँदा अझ बढी समय लाग्थ्यो।
सुनसान सगरमाथा आधार शिविर क्षेत्र
पहिलो दिन नोभेम्बर ४ मा काठमाडौंदेखि ३५ मिनेटको उडानपछि लुक्ला उत्रियौं। अरू बेला पर्यटकले भरिभराउ हुने लुक्ला सुनसान थियो। होटल र पसलबन्द थिए। मान्छेको आवत-जावत पनि कमै थियो।
लामो लकडाउनले काठमाडौं मै थुनिएर बसेको म यात्राका लागि निकै उत्साहित थिएँ। तीसौं पटक सगरमाथा आधार शिविर पदयात्रा गर्दै गरेको मलाई यसपल्ट भने नौलो महसुस भयो। दुधकोशी खोलाको किनार पछ्याउँदै फाक्दीङतर्फ हाम्रो यात्रा अगाडि बढ्यो।
नुप्ला पिक अवलोकन गर्दै चौरी खर्क, चेप्लुङ हुँदै हामी फाक्दिङ ९२६०० मि० मा पुगेर पहिलो रात बास बस्यौं। कोरोनाका कारण एभरेस्ट क्षेत्रका लजहरू खुलेका थिएनन्। खुलेका पनि खाना बस्नको प्रबन्ध गर्नु हाम्रो लागि चुनौती थियो।
दोस्रो दिन बिहान ब्रेकफास्ट पछि मोन्जो हुँदै जोर्सल्ले चेकपोस्टमा नाम इन्ट्रि गरेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरियो।
एभरेष्ट फिल्ममा देखेको हिलारी झोलुंगे पुल तर्दा जेम्स निकै रोमाञ्चित भए। त्यसपछि उकालो सुरू भयो, १० मिनेट उकालो हिँडेलगत्तै सगरमाथाको टुप्पोको पहिलो दर्शन पाइयो।
त्यसपछि लगातार पाँच घण्टाको यात्रापछि नाम्चे (३४४० मि) पुगियो। बाटाभरि हामी ३ जनाको टोलीमात्र थियो। यसअघि पर्यटकको भिड लाग्ने पदमार्ग पहिलो पटक सुनसान पाएँ।
सधै भरिभराउ हुने नाम्चे बजार एकदमै सुनसान थियो। पसल,कफी शप, सुभिनर शप, रेस्टुरेन्ट, होटल सबै बन्द थियो। मान्छे कहिकतै देखिएका थिएनन्। हामीले पहिले नै होटल नाम्चे बुक गरेकाले सिधै चेक इन गरियो।
तेस्रो दिन बिहान ब्रेकफास्टपछि साइड ट्रेकको लागि हामी तयार भयौं। एक्लिमिटाइजको लागि प्रायः पर्यटकहरू यहाँ २ दिन आराम गर्छन् र नाम्चे सेरोफेरो घुम्छन्। हामीले त्यस दिन स्याङबोचे, खुम्जुङ, खुडे, हिलारी भ्यूपोईन्टतिर साईड ट्रेक गर्यौं।
३७९० मिटर उचाईमा रहेको खुम्जुङ सगरमाथा क्षेत्रको सबैभन्दा पुरानो र अग्लो स्थानमा रहेको मानव वस्ती हो। लामो समय पर्यटक नदेखेको स्थानीय हामीलाई देखेर अलिक सशंकित भए। त्यो दिन चियासमेत पिउन पाइएन। आफैले बोकेको बिस्कुट, चकलेट र ड्राइफ्रुट खाएर त्यो दिन टर्यो।
त्यस दिन हामीले सगरमाथा, अमादाबलम्, थामसेर्कु, कोङटेगा, नुप्से, ल्होत्से, आइलेण्ड पिक जस्ता दर्जनौं हिमालको दर्शन पाइयो। जेम्स निकै प्रफुलित थिए। बाटामा थार त डाँफेसँग पनि जम्काभेट भयो। हिमाली भुदृश्य र वुद्धिष्ट ध्वजाहरू फहराएको देख्दा उनी रोमाञ्चित बने।करिब ५ घण्टा घुमेर हामी नाम्चे फर्कियौं।
‘वाउ! अनविलिवेवल, विश्वासै गर्नै नसकिने,’ मक्ख पर्दै जेम्सले भने। उनले नाम्चेको खुसी अस्ट्रलियामा आफ्ना परिवार र साथीभाइसँग भिडियो कलमार्फत साटे।
चौथौ दिन त्याङवोचे हुँदै यात्रा हाम्रोअघि बढ्यो। बाटोमा ५ विदेशी फर्किदै गरेको भेट्यौं। ट्याङवोचे पुग्दा पुरै बन्द थियो। गुम्बा बन्द थियो। त्यहाँका अवतारी लामा (रिम्पोचे) केही समय अगाडि बितेका रहेछन्। दिनभरीको यात्रा कहिले तेर्सो कहिले ठाडै उकालो, खोला पछ्याउदै हिँड्दै बित्यो। करिब ५ घण्टाको पैदल यात्रापछि दिवोचे (३७०० मि) मा बास बस्न पुग्यौं।
पाँचौ दिनमा पाङबोचे गाउँ हुँदै सोमारेमा लञ्चको रूपमा चाउचाउ सुप र भुटेको आलु खाइयो। त्यहा पदमार्ग सुधारको कामहरु धमाधम भइरहेका थिए। यात्राभरी अमादाबलम्, थामसेर्कु, काङतेङगा हिमालहरूले हामीलाई साथ दिइरहेका थिए। ४४१० मिटर उचाईमा रहेको दिङवोचेको गुडलक होटलमा बास बस्न पुग्यौं।
दिङवोचे बजार पनि सुनसान थियो। होटल पसल खाली थिए, अधिकांश बन्द थिए।
छैठौं दिन हिँडेन भ्यालीको रूपमा चिनिने छुकुम जाने तयारी गर्यौं। ५०८७ मिटर उचाईमा रहेको इम्जाताल निकै सुन्दर छ। तालमा परेको हिमालको छायाँले छुट्टै आनन्द दियो। जता फर्किए पनि हिमालै मात्र देखिने यो ठाउँ आखिर स्वर्गकै टुक्रा हो। यहिबाट आइल्याण्ड पिक जाने रूट छुटिन्छ।
सातौं दिन आरामको दिन। दिनभर घाम ताप्दै लोकल आलु र रोटी खाएर बित्यो। आठौं दिन हाम्रो यात्रा फेरिचेको माथि दुसा भ्याली पास हुँदै अगाडि बढ्यो। दुर्विनले कतारको राजकुमारको टोली अमादाबलम हिमाल आरोहण गर्दै गरेको दृश्य पनि अवलोकन गरियो।
थुक्लामा चाउचाउको झोलले ज्यानमा फूर्ति थप्यो। थुक्ला पास काटेर हिमालमा मृत्यु भएको पदयात्री र शेर्पाहरुको स्मारकमा सम्झना गर्दै करिब १५/२० मिनेट अवलोकनपछि लोबुचे (४९१० मि) मा पुगियो।
हामीले त्यहाँ ३ जना नेपाली पदयात्री मध्ये एकलाई लेक (हाइ अल्टिच्युट) लागेको भेटियो। मसँग भएको केही औषधि उनीहरूलाई दिएँ। एभरेष्ट पदयात्रा निकै साहसिक र जोखिम पदमार्गमध्ये एक हो। यो पदमार्गमा निस्कँदा तयारी राम्रो गर्न जरूरी छ।
ट्रेकिङ बुट, न्यानो कपडा, मोजा, चश्मा, औषधिलगायत पर्याप्त मात्रामा ड्राइफुड साथमा बोकेर आउनुपर्छ। लोबुचेमा कोङमाला पास (५२०० मि) पुगेर भर्खर फर्केका ५ स्थानीय महिला भेटियो। यो दिनको बास लोबुचेमै भयो।
नवौं दिनमा लोबुचे हुँदै २ घण्टा हिँडेर गोरकशेप पुग्यौं। नेपालकै ठूलो १२ किमी क्षेत्रफल फैलिएको ग्लेसियर (खुम्बु ग्लेसियर) माथि टेक्दै त कहिले छेउ छेउ हुँदै गोरकशेप (५१८०) मा पुगियो। हाम्रो झोला त्यहीँ बिसायौं। तातो सुप र ऊर्जा थपेर त्यहीँ दिन एभरेष्ट वेस क्याम्प तिर हानियौं।
तेर्सो उकालो बाटो, हिउँको खोँच छल्दै, हिउँ पहिरो (एभेलेञ्च) मार्ग पहिल्याउँदै करिब डेढ घन्टामा हामी बेस क्याम्प पुग्यौं। त्यहाँ आराम गर्दै फलफूल, बिस्कुट खायौं। वेसक्याम्प पुगेर मनोरम दृश्यले मन्त्रमुग्ध भयौं। चारैतिर हिमाल, जति हेरे पनि नअघाउने। कहिले नथाकिने, छोड्नै मन नलाग्ने सगरमाथाको आधार शिविर। तर के गर्ने फर्किन त पर्यो नै!
दिन ढल्किदै गयो, हामी पनि गोरेकशेप तिर पुनःफर्कियौं। फर्किँदा एक नेपाली जोडी वेस क्याम्पतर्फ उक्लिदै गरेको भेटियो। त्यो रात निकै चिसो थियो। ठण्डीमा वडा मुश्किलले रात काट्यौं।
१०औं दिन कालापत्थर
अर्को दिन कालापत्थरको यात्रा निकै रमाइलो भयो। धेरै दिनको निरन्तर उच्च भूभागमा हिँडाइले जेम्स अलिक थकित देखिन्थे, मलाई पनि केही थकान भएको महसुस भयो। तर हिम्मत नहारी कालापत्थर तिर हिँड्यौं। कालापत्थर पुग्दा त्यहाँको रमणीय दृश्यले थकान सबै हरायो। ‘वर्थ इट!’ सन्तोषको साँस फेर्दै जेम्स मुस्कुराए।
काला पत्थर (५६४८ मि) का काला ढुंगामा बसेर नुप्से, एभरेस्ट, पुमोरीमा सनराइजको भ्यू हेर्दा सधैँ त्यहीँ बस्न पाए हुन्थ्यो झैँ लाग्छ। अन्य हिमालभन्दा कम हिउँ भएको कालो पहाड वेस्टकोल र नुप्सेको पछाडि विश्वको सर्वोच्च शिखर माउण्ट एम्भरेस्ट (सगरमाथारचोमोलोङमा) ८८४८ मि (२९०२९ फिट) काला पत्थरबाट आँखा अगाडि स्पष्ट देखिन्छ।
तलतिर खुम्बु ग्लासियर देखिन्छ भने वरिपरि हिमाल नै हिमालले घेरिएर हिमालको बीचमा स्वर्गको अनुभूतिको आभास हुन्छ। खुम्बु ग्लासियरमा आइसबर्ग पहिले तलसम्म थियो भने अहिले बेस क्याम्पको छेउमा मात्र देखिन्छ। हिउँ पग्लने क्रम बढ्दो छ, जसका कारण हिमाल काला पहाडमा परिणत भएको र ग्लासियरमा पानीको मात्रा बढेर गएको देखिन्छ।
केहीबेर हिमाली भेगको आनन्द मज्जा लिएर स्न्याकस् खायौं। त्यहीँदिन फर्कियौ, तर निकै चिसो भएकोले लोबुचे तिर झरियो।
हेलीबाट एभरेष्ट भ्यू टुर
मैले जेम्सलाई हेलिकप्टरबाट माउण्टेन फ्लाईट गर्न सकिने जानकारी गराए। उनले निकै उत्साहित हुँदै हेली टुर गर्ने इच्छा ब्यक्त गरे। कैलास हेलिकप्टरसँग सम्पर्क गरेर हेली टुर निश्चित गरेँ।
भोलिपल्ट आधा घण्टाको हेली टुरमा काला पत्थर वेस क्याम्प, हिलारी स्टेप, खुम्बु आइसफल, एभरेष्ट, लोबुचे पिक, गोक्यो ताल सेरोफरो फन्को मारेर फर्कियौं। अवस्मरणीय हेली टुरमा जेम्स रोमाञ्चित भए। हेली माउन्टेन टुरपछि नाम्चेमा ल्याण्ड भयो।
त्यही दिन बेलुका पासाङ ल्हामू गाउँपालिकाका जनप्रतिनिधि, सगरमाथा राष्ट्रिय निकुञ्जका वार्डेन, नेपाली सेना, नेपाल प्रहरीलाई यात्रामा सहयोग गरेकोमा जेम्सले धन्यवाद दिए।
बार्हौं दिन ७ घण्टाको यात्रापछि हामी पुनस् लुक्ला फर्कियौं।
सहयोगी भाई राज र श्रीमतीको बीच बाजी
फर्किने वेला पोर्टर भाइ राज राईको छेप्लुङ गाउँमा आलुको परिकारले स्वागत गरे। राजको लागि यो लामो लकडाउनपछिको पहिलो ट्रिप थियो। घरमा श्रीमतीले यस्तो बेला खासै कमाईं नहुने आशंका राखेकी रहेछिन्। उनले शर्त राखेछिन् – रू १५ हजारसम्म टिप्स ल्याए तीनले राजलाई बोकेर घर डुलाउने र यदि कम कमाए श्रीमानले बोकेर डुलाउनुपर्ने।
ट्रिपपछि पाहुनाले टिप्स मात्र २५ हजार दिए। साथमा दिनको १८०० सयका दरले पारिश्रमिक पनि पाउँदा राज निकै दंग थिए। जीवनमा पहिलो हेली यात्राको रोमाञ्चकता पनि उठाएका थिए राजले।
हामीलाई सगरमाथा क्षेत्रको सिमी, आलु, टिमुर कोशेलीको रुपमा पठाए। बोकेर डुलाउने बाजी उनीहरूका श्रीमान(श्रीमतिले पालना गरे कि गरेनन्रु हामी काठमाडौं फर्किहाल्यौं।
यात्राको अन्तिम दिनको बेलुका नुम्बुर होटलमा बास बसेका थियौं। संयोगले पर्यटन मन्त्री योगेश भट्टराईसँग भेट भयो। मन्त्रीज्यू र डेपूटी एम्वेसडर बीच भेटघाट र भलाकुसारी भयो। मन्त्रीज्यूले यात्राबारे चासो राख्दै सगरमाथा आधार शिविर घुमेर सफल पारेकोमा शुभकामना समेत दिए।
हाम्रो रोमाञ्चक सगरमाथा पदयात्रा बिट मार्दै तेह्रौ दिन बिहान लुक्ला एयरपोर्टमा पुग्दा कतारी राजकुमारको आरोहण दलका शेर्पा टोलीसँग भेट भयो। हामी एउटै प्लेनमा काठमाडौंसम्म आयौं। अनगन्ती पटक बेस क्याम्प गएको मेरो लागि यसपल्टको यात्रा साच्चिकै नौलो र रमाइलो भयो।
कल्पना गरेको स्वर्गजस्तै लाग्ने सगरमाथाको अवलोकन कठिन र चुनौतीपूर्ण छ। आफैं पुगेर सगरमाथाको मनोरम दृश्य हेर्न भोक(प्यास, उकाली/ओराली, दुःख कष्टको सामना गर्नुपर्छ। उद्देश्यहीन गन्तव्यले लक्ष्य प्राप्ति हुदैन। तीव्र इच्छाशक्ति छ भने सपना साकार हुन समय पनि लाग्दैन। धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन्, नसके कम्तिमा सगरमाथाको आधार शिविर (५,३६४ मिटरको उचाई)मा भएपनि पुग्ने धोको राख्छन्। यो धोको पूरा गर्न सपना पालेर मात्रै हुदैन साकार पार्न
यात्रामा निस्किनै पर्छ। जसका लागि त्यहाँको वस्तुस्थिति र अवस्थाका बारेमा पनि पूर्व जानकारी लिनु अनिवार्य हुन्छ।
लकडाउनपछिको हाम्रो एभरेस्ट बेस क्याम्प यात्रा एकदमै रमाइलो, उत्साहपूर्ण रूपमा सफल भयो।
दैनिक ५/७ सय पर्यटक जाने रुटमा हामी एक्लो थियौँ तर हामीसँग प्रकृति थियो, सुन्दर हिमाल थिए, कलकल बगेका नदी/नाला/खोला थिए। यस्तो महामारीका बीच अनुहारमा मास्क, साथमा स्यानिटाइजर र सुरक्षा उपाय अपनाएर अष्ट्रलियन कुटनितिज्ञसँग एभरेष्ट वेस क्याम्पको गरिएको यात्रा वास्तव मै जीवनको नौलो अनुभव र अवस्मरणीय बन्यो।
( न्यौपाने रसुवा ट्रेक्सका अपरेशन डाइरेक्टर हुन्। प्रस्तुतीः सुरेन्द्र राना (घुमफिरे))
तस्वीरहरु: गगनराज न्याैपाने