नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सल्यानमा तीनवटा पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ। जिल्लाको छत्रेश्वरी, कुमाख र दार्मा गाउँपालिकामा नेकपाले टिम सहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो।
छत्रेश्वरी गाउँपालिकामा अध्यक्षमा लोक्पाल केसी र उपाध्यक्षमा हिरा बुढाले उम्मेदवारी दिएका छन्। यहाँ ४ वटा वडामा अध्यक्ष सहित सदस्यमा पनि नेकपाले स्वतन्त्र उम्मेदवार उठाएको छ।
त्यस्तै, कुमाख गाउँपालिकामा अध्यक्षमा भीम भारती र उपाध्यक्षमा गणेश चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ नेकपा र जनमोर्चाको गठबन्धन भएको छ। नेकपाले ३ वटा वडा र जनमोर्चाले एउटा वडामा उम्मेदवारी दिएका छन्।
दार्मा गाउँपालिकामा अध्यक्षमा दल बहादुर केसी र उपाध्यक्षमा मदन चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन्। दार्मामा ३ वटा वडामा नेकपाले अध्यक्ष सहित सदस्यहरूमा पनि उम्मेदवारी दिएको छ।
जिल्लाका अन्य पालिकाहरुमा पनि नेकपा समर्थन स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। कालिमाटीको एउटा वडा, त्रिवेणीमा दुईवटा र बागचौरमा चारवटा वडामा नेकपाले स्वतन्त्र उम्मेदवारी दिएको नेकपा सल्यानले जनाएको छ।