नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले पाँच दलीय गठबन्धन एमालेको अगाडि नटिक्ने दावी गरेका छन्। रौतहटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले एमालेमा देशैभरी प्रवेशको लहर चलेको र आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार सानदार मतका साथ विजयी हुने ठोकुवा गरेका छन्।
‘एमालेका उम्मेदवार आगामी स्थानीय तहको निर्वाचनमा सानदार मतकासाथ विजयी हुने निश्चित छ। देशैभरी एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ। विभिन्न पार्टीका नेताका साथै निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरिरहेको दृश्यले नै पाँच दलीय गठबन्धन एमालेको अगाडी टिक्न नसक्ने प्रमाण हो,’ साहले भने।
रौतहटको गौर र गरूडा नगरपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई साहले स्वागत गरेका छन्।
गरूडा नगरपालिका–९ विर्ता बजारमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपाबाट वृन्दावन नगरपालिकाका मेयर प्रत्यासी मोहम्मद हकिमको नेतृत्वमा नगरका हरेक वडाबाट सयौंको संख्यामा तथा गौर नगरपालिका– ८, पुरेनवामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपाको वडाध्यक्ष प्रत्यासी परमात्मा साहको नेतृत्वमा सयौं नेता कार्यकर्ताले जसपा परित्याग गरी एमाले प्रवेश गरेका छन्।
यस्तै गरूडा नगरपालिका–२ गेडहीगुठीका कार्यवाहक वडाध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा नेपाली कांग्रेसका ५०० भन्दा बढी, लोसपा नेपालको जिल्ला कोषाध्यक्ष भुपनारायण सहनीको नेतृत्वमा तिन सयभन्दा बढी तथा गौर नगरपालिका–७ सिसवाबाट नेकपा एकीकृत समाजवादीका जिल्ला नेता यार महम्मदको नेतृत्वमा २०० भन्दा बढी गरि विभिन्न स्थानबाट विभिन्न दल परित्याग गरी हजारौं नेता कार्यकर्ताले एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेता साहले पार्टीमा उचित जिम्मेवारी दिने बताएका छन्। पछिल्लो समय तराई मधेसमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर नै चलेको उनले बताएका छन्।