काठमाडौंको पुरानो वृद्धाश्रममध्येको एक हो, ‘मातातीर्थ वृद्धाश्रम’। जहाँ आश्रित छन्, २५ जना आमाहरू। उमेरले ६० वर्ष नाघेका तिनै आमाहरूको समूहमा थिइन्, ६१ वर्षकी संगीता क्षेत्री। उनी आमाहरूकाे भिडमा निराश देखिन्थिन्।
भक्तपुरकी संगीता अमात्य डाक्टर बन्न चाहन्थिन्। सानैदेखि मानव सेवामा रूचि राख्ने उनी डाक्टर बनेर बिरामीहरूको सेवामा रम्न चाहन्थिन्। डाक्टर बन्ने सपना देखेकी उनी पढाइमा पनि उत्तिकै सिपालु थिइन्। उनलाई बाआमाले समेत डाक्टर बन्न सुझाउँथे।
शिक्षित परिवारकी एक्ली छोरी थिइन्, संगीता। बुबा व्यापारी, आमा शिक्षिका। उबेला नै आमाले ‘बिएड’ को पढाइ पूरा गरेकी थिइन्। आमा शारदा कलेज पढाउँथिन्। त्यसैले उनले आमाबाटै पहिलाे शिक्षा लिइन्। ‘शिक्षित आमाबाट मैले पहिलो अक्षर चिनेकी थिएँ। उहाँले मलाई सधैं ज्ञानका कुराहरू सिकाउनुहुन्थ्यो’, उनले भनिन्, ‘मेरो पहिलो गुरू पनि मेरी आमा नै हुनुहुन्छ।’
सानैदेखि पुल्पुलिएर हुर्किएकी संगीताले कहिल्यै दुखको सामना गरिनन्। उनले घरको कामकाज पनि सम्हाल्नु परेन। उनको काम भनेकै अध्ययन थियो। ‘घरको काम गर्न खोज्दा पढ्नुपर्छ भनेर आमाले कराउनुहुन्थ्यो। त्यसैले मेरो काममा भन्दा धेरै पढाइमा ध्यान हुन्थ्याे’, उनले सुनाइन्।
बुबाआमाकाे प्रेमले हुर्किएकी उनले वि.सं. २०३९ सालमा स्नातक तहको पढाइ पूरा गरिन्। र २० वर्षकाे उमेरमा वैवाहिक बन्धनमा बाँधिइन्। उनकाे विवाह कीर्तिपुरका व्यापारी दिलीप क्षेत्रीसँग भयाे।
धेरै पढेर डाक्टर बन्ने सपना बुनेकी उनी माइतीघर छाड्न चाहँदिन थिइन् तर विवाहपश्चात पनि पढाइदिने सहमति भएपछि उनी क्षेत्रीसँग विवाह गर्न राजी भइन्।
विवाह गरेर कीर्तिपुर पुगेकी उनले स्नातकोत्तरको पढाइ सुरु गरिन्। तीन वर्ष लगाएर उनले ‘प्रशासन’ विषयमा ‘मास्टर्स डिग्री’ पार गरिन्। ‘डाक्टर बन्ने चाहना थियो तर सम्भव नभएपछि अर्को विषय लिएर पढेँ’, उनले सुनाइन्।
मास्टर्स सकाएकी उनले ‘एमफिल’ को पढाइ पनि गरिन्। किताबलाई प्रेम गर्ने उनकाे ‘पिएचडी’ गर्ने रहर थियो। जुन सम्भव भएन। जसको कारण थियो, उनकै श्रीमान दिलीप।
कालिमाटीमा ठुलो कपडा पसल थियो। त्यही पसल नै क्षेत्री परिवारको आम्दानीको स्रोत थियो। तर विस्तारै दिलीपकाे व्यवहार बदलिन थाल्याे। पसलको रेखदेख गर्नमा व्यस्त रहने उनी ‘क्यासिनो’ ध्याउन थाले। क्यासिनो गएरै उनले सारा सम्पत्ति गुमाए।
श्रीमानको व्यवहारले निराशिएकी उनले पहिलोपटक दुखलाई नजिकबाट निल्यालिन्। त्यहीबेला उनले प्रण लिइन्, ‘म डाक्टर बन्न नपाए पनि मेरो दुई छोराहरूलाई डाक्टर बनाउनेछु।’
श्रीमानको कुनै भराेसा नभएपछि पढाइ छाडेर उनले बालाजुमा रहेकाे ‘सिद्धार्थ वनस्थली स्कुल’ मा पढाउन थालिन्। उनले त्यही विद्यालयमा दुई वर्ष पढाइन्। ‘त्योबेला म कक्षा ७ सम्म पढाउँथेँ। मेराे तलब हजार रुपैयाँ थियाे’, चार दशकअघिको कुरा सम्झँदै उनले भनिन्, ‘त्यो समयमा त्यही पैसा नै ठुलो थियो।’
विवाह गरेर खुसी हुने उनकाे सपना पूरा हुन नसके पनि छाेराहरूलाई खुसी राख्ने उनकाे ठुलाे सपना थियाे। त्यसैले उनी आफू डाक्टर बन्न नसके पनि छाेराहरूलाई बनाउन चाहन्थिन्। तर उनले सोचका जस्तो भएनन्, छोरा। श्रीमानझैँ बिग्रिए, जेठा छोरा। कुबेत भासिए, कान्छा छोरा।
‘कुलतमा फसेका छोरालाई सुधार केन्द्रमा राख्नुपर्यो’, उनी भन्छिन्, ‘अर्को छोरा भविष्य बनाउनका लागि कुबेत गयो।’ आमालाई छाडेर लाखापाखा लागेका छाेराहरूकाे कारण राेएकी उनी कयाैँ पटक बिरामी परिन्। उनलाई आमा शारदाले बचाइन्।
‘मसँग उपचार गर्ने पैसा थिएन, त्यसैले आमाले नै गरिदिनुभयो’, उनी भन्छिन्, ‘बुबाले संसार त्यागेपछि आमा मेरो मायाले बाँच्नुभएको थियो।’
आफ्नो एक्लोपना र छोरीको छताछुल्ल परिवार देखेकी आमाले संगीतालाई आश्रम जान आग्रह गरिन्। आमाकाे कुरा मानेकी उनले पनि आश्रम बस्ने निधाे गरिन्।
बिरामी आमाको सेवामा खटिरहेकी छिन् संगीता
माइतीकाे सम्पत्ति आफ्नै कारणले सकेकाे बताउने उनले बिएल नेपाली सेवालाई भनिन्, ‘मेराे लागि आमाले पैसा सकाउनुभयाे। त्यसैले मैले आमालाई छोड्न सकिनँ। आमाकाे माया लागेर म पनि आश्रममा बस्न थालेँ।’
आश्रम बस्ने आमाछाेरीकाे याेजनापछि उनीहरू थानकाेटकाे ‘ज्योति आश्रम’ मा बस्न थाले। आफूलाई माया गर्ने आमासँग आश्रममा बस्दा सन्तुष्ट थिइन्, संगीता। श्रीमानकाे घर टुटे पनि उनी आमाकाे साथ पाएर खुसी थिइन्। तर उनको त्यो खुसी पनि धेरै समय टिक्न सकेन।
आफ्नाे खुसीकाे स्राेत उनकी आमा दमको बिरामी भइन्। त्यसपछि उनी आमाकाे हेरचाहमा लागिन्। आमालाई खाना खुवाउने, औषधि दिने र चर्पी लैजाने सबै काम उनैले गर्न थालिन्।
सानाे छँदा डाक्टर बनेर बिरामीको सेवामा खट्ने लक्ष्य लिएकी संगीता अहिले वृद्धाश्रममा बसेर आफ्नी आमाको स्याहारमा जुटिरहेकी छन्। उनी भन्छिन्, ‘आमालाई स्याहार्नु मेरो साैभाग्य हो।’
दुई वर्ष ज्योति आश्रममा बसेका आमाछोरी अहिले मातातीर्थमा रहेको ‘मातातीर्थ वृद्धाश्रम’ छन्। दुई वर्षदेखि मातातीर्थ बस्दै आएकी उनी सुनाउँछिन्, ‘याे आश्रम राम्रो लागेर यहाँ बस्न थालेका हाैँ।’
चार वर्षदेखि आश्रम बस्दै आएकी संगीताका श्रीमान तीन वर्षअघि बिते। चारै वर्षदेखि घरपरिवारबाट टाढिएकी उनी भन्छिन्, ‘श्रीमानकाे निधनले भन्दा धेरै मलाई आमाको चिन्ताले पिराेलिरहेकाे छ।’
बाल्यावस्थामा प्रेमिल आमाको स्याहार पाएर हुर्किएकी संगीतालाई हिजोआज एउटै कुराको त्रास छ, त्यो हो बिरामी आमालाई गुमाउने।’