काठमाडाैंकाे चर्चित पवित्रस्थलमध्ये एक हाे, मातातीर्थ कुण्ड। जहाँ आमाकाे स्मरणमा धाउने गर्छन् श्रद्धालु। त्यही कुण्डकाे छेउमै छ, मातातीर्थ वृद्धाश्रम समिति। जहाँ २५ जना बेसाहारा आमाहरू आश्रित छन्। उनै आमाहरूको सेवामा खटिरहेका छन्, संस्थाका प्रमुख तथा व्यवस्थापक राम थापा।
साढे दुई दशकदेखि उनी अलपत्र परेका आमाहरूको सेवामा जुटिरहेका छन्। उनी भन्छन्, ‘आमाहरूलाई छाना दिनु नै हाम्रो उद्देश्य हो।’
सानैदेखि मानव सेवामा चासो राख्ने उनकाे मातातीर्थ कुण्ड नजिक आश्रम खाेल्ने रहर थियाे। जुन सपना उसलाई आफूभन्दा समझदार व्यक्तिहरूले दिएका थिए। ‘मातातीर्थ कुण्ड आमाहरूका लागि प्रसिद्ध छ। त्यसैले हामीले यहीँ नजिक घर र माइतीबाट अलग्गिएका आमाहरूलाई राख्ने सोच बनायौँ’, उनले भने।
अशक्त र असहाय आमाहरूलाई संरक्षण गर्ने लक्ष्य बाेकेका थापालगायतका व्यक्तिहरूले २०५४ सालमा आश्रम स्थापना गरे। आश्रमकाे सुरूवाती चरणमा उनले काेठा भाडामा लिएर तीन जना आमाहरूलाई सहारा दिए। जसलाई उनले सडकबाट उठाएर ल्याएका थिए।
‘सुरूमा हामीले तीन जना आमाहरूलाई आश्रममा राख्याैँ। एउटी आमालाई धादिङको खानीखोला, एक जना आमालाई न्यूराेडकाे सडक र अर्की आमालाई हामीले पशुपति वृद्धाश्रमबाट ल्याएर राखेका थियाैँ’, पहिलाेपटक आमाहरूलाई राखेकाे क्षण सम्झँदै उनले भने।
मुठ्ठी दानले आश्रम चलाउने साेचेका उनलाई छरछिमेकहरूले समेत साथ र सहयाेग गरे। आश्रममा राखिएका आमाहरूका लागि दाताहरूले खाद्यानलगायत लत्ता कपडाहरूकाे समेत व्यवस्था गरिदिए।
बिना स्वार्थ समाज सेवा गर्ने हुटहुटी लिएर अघि बढिरहेका रामले आश्रम स्थापना भएकाे चार वर्षपछि पाटनका ज्यापु सामाजकाे पनि सहयाेग पाए। टाेल–टाेलमा उठाएकाे मुठ्ठी दान आश्रम ल्याइदिने गरेकाे उनले सुनाए। ‘उहाँहरूले हामीलाई धेरै सहयाेग गर्नुभयाे। अहिले पनि त्याे सहयाेग कायम छ’, उनले भने।
आफ्नै परिवारबाट अपहेलना भएका आमाहरूकाे सेवामा निरन्तर खटिरहेका उनी २०६७ सालमा धेरै खुसी भए। जब आमाहरूले बस्नका लागि आश्रम पाए। त्याे क्षण उनलाई लागेकाे थियाे, ‘म नरहेपनि याे आश्रम रहनेछ।’
‘हामीलाई मनकारी दाताहरुले भूमि दिनुभयो। अनि आमाहरूका लागि घर पनि बनाइदिनुभयो’, डेढ दशकअघिको कुरा सम्झँदै उनले भने, ‘त्योबेला म खुसीले गदगद भएको थिएँ।’
आश्रम स्थापना भएकाे २६ वर्ष भइरहँदा विगतका दिनमा र अहिले धेरै परिवर्तन भएकाे उनी सुनाउँछन्। भन्छन्, ‘आश्रममा अहिले पनि दुख छ तर विगतका दिनहरूमा जस्तो संघर्ष गर्नुपरेको छैन। जसको कारण हो, हाम्रा मनकारी दाताहरू। उहाँहरूकै कारण हामीले आश्रमलाई अपाङ्गमैत्री बनाएका छौँ। जसले गर्दा शारीरिक अशक्त भएका आमाहरूलाई सहजता भइरहेको छ।’
कसरी चलिरहेको छ मातातीर्थ वृद्धाश्रम समिति?
मुठ्ठी दानबाट सुरू गरिएकाे मातातीर्थ वृद्धाश्रम अहिले पनि त्यसैकाे भरमा चल्ने उनी बताउँछन्। बेसहारा भएका आमाहरूका लागि निरन्तर खटिरहेको आश्रमले हालसम्म विदेशको सहयोग नलिएको उनको दाबी छ।
‘यो आश्रम मात्र दाताहरूको सहयोगले चलिरहेको छ। कुनै विदेशी लगानी छैन’ रामले भने, ‘जन्मदिन र विवाहको वर्ष दिनमा दाताहरू आएर आमाहरूलाई खाना खुवाउनुहुन्छ। त्यसैगरी नै चलिरहेको छ, हाम्रो आश्रम।’
ज्येष्ठ नागरिकप्रति सरकारकाे छैन ध्यान
दाताहरूको सहयोगमा चलिरहेको मातातीर्थ वृद्धाश्रममा सरकारको कुनै सहयोग नरहेको थापा बताउँछन्। ‘हाम्रो संस्थालाई लामो समयदेखि सरकारले हेरेको छैन। स्थानीय सरकारले पनि हेरेको छैन’, सरकारसँग गुनासो गर्दै उनले भने, ‘सरकारले ज्येष्ठ नागरिकलाई ध्यान नदिएको जस्तो लाग्छ। उहाँहरू एकपटक आश्रम आएर अनुगमन गर्नुपर्छ।’
सरकारसँग आफ्नाे कुनै अपेक्षा नभएपनि ज्येष्ठ नागरिकले पाउनुपर्ने अधिकार दिलाउनुपर्ने उनकाे बुझाइ छ। ‘ज्येष्ठ नागरिकले पाउनुपर्ने अधिकार पाउनुपर्छ, उहाँहरूले निशुल्क औषधि पाउनुपर्छ। कतिपयले त हालसम्म नागरिकता पनि पाउनुभएकाे छैन।’
आश्रम सुरु गरेको २६ वर्ष बितिसक्दा त्यहाँका आमाहरूसँग छुट्टै नाता गाँसिएको उनी बताउँछन्। हालसम्म ९२ जना आमाहरूको हेरचाह गरिसकेको आश्रमले ५२ जना आमाहरूलाई गुमाएको र १४ जनालाई पारिवारिक मिलन गराएको थापाले बताए।
‘आफूहरूसँग बसेका आमालाई गुमाउँदा साह्रै नरमाइलो लाग्छ’, स्वर्गीय आमाहरूलाई सम्झँदै उनले भने, ‘आश्रममा बसेका आमाको निधन हुँदा हामी एकदिन छाक जुठो बार्छाै।’
साढे दुई दशकको अवधिमा उनले धेरै जना आमाहरूको दाहसंस्कार गरे। तर १०३ वर्षकी आमालाई संसारबाट बिदाइ गर्नुपरेको त्यो क्षण उनलाई हिजोझैँ लाग्छ।
२०७४ साल वैशाख १ गते नयाँ वर्षको दिन। उनलाई साथीहरूले घुम्नका लागि आग्रह गरिरहेका थिए। तर उनलाई आश्रम छाडेर हिँड्न मन लागेन। त्यसैले उनी आश्रममा बसेर आमाहरूको स्याहारमा लागे।
‘साथीहरूसँग नगएर म आमाहरूसँग आश्रममा बसेँ। साढे २ बजे खाजा खाने समयमा म ती बूढी आमालाई बोलाउन उहाँको कोठा गएँ तर उहाँ धेरै छट्पटाउनु भयो र मेरै काखमा उहाँको अन्तिम श्वास गयो’, आमा सम्झिएर भावुक भएका रामले भने, ‘मलाई त्यो दिन धेरै नरमाइलो लागेको थियो। उहाँलाई मैले ११ वर्ष स्याहारेको थिएँ।’
दाताहरूकाे सहयाेग र मायाले खडा भएकाे आश्रम ५० जना आमाहरू बस्न याेग्य रहेपनि हालसम्म २५ जना मात्र भएकाे उनले सुनाए। आफूलाई आश्रममा बेसहारा आमाहरू थप्ने इच्छा भएपनि बाध्यताका कारण सम्भव नभएकाे उनले गुनासाे गरे।
‘कयौँ आमाहरू सडकमा भौँतारिरहनुभएको छ, उहाँहरूलाई आश्रममा राख्ने रहर छ तर त्यो सम्भव छैन। किनकी हामीसँग मेनपावर नै छैन’, उनी भन्छन्, ‘हालसम्म आश्रममा सबैभन्दा धेरै २७ जना आमाहरू मात्र बस्नुभएको छ। त्योभन्दा धेरै राख्ने हामीसँग सामर्थ्य छैन तर २०८० सालसम्म पाँच जना थपेर ३० जना आमा राख्ने लक्ष्य लिएका छौँ।’
आश्रममा ३० जना आमा राखिसकेपछि स्वास्थ्य तथा सरसफाइसम्बन्धीका विभिन्न कार्यक्रम ल्याउने उनले बिएल नेपाली सेवालाई बताए। ‘आमाहरूलाई लक्षित गरेर विभिन्न योजनाहरू ल्याउन लागेका छौँ’, उनले भने।