काठमाडौंको नयाँ बसपार्कबाट मनमैजु जाने बाटोमा छ, दिप ज्योति स्कुल। त्यही स्कुल पछाडि छ, हिमालय वृद्धाश्रम केन्द्र। जहाँ बस्छन्, ४४ जना वृद्धवृद्धा। उनै वृद्धवृद्धाको हेरचाहमा खटिरहेकी छिन्, हिमालय वृद्धाश्रम केन्द्रकी संस्थापक अध्यक्ष सरला पन्थी।
उनी झण्डै दुई दशकदेखि अलपत्र परेका बाआमाको स्याहारमा जुटिरहेकी छिन्। भन्छिन्, ‘खुल्ला आकाशमुनि कोही बाआमा बस्न नपरोस्।’
समाजसेवा गर्नमा सानैदेखि इच्छा राख्ने उनले एकदिन अस्कल क्याम्पस नजिकै देखिन्– छाप्रामा बसेका एक बूढो बा।
बेवारिसे अवस्थामा बसेका ती बालाई देखर उनको अन्तरआत्माले भन्न थाल्यो, ‘अलपत्र परेका बाआमाको रेखदेख गर्नुपर्छ।’ नभन्दै उनले सात जनाको समूह बनाइन्। अनि त्यही समूहबाट सुरु गरिन्, सन्तानबाट आल्पिएका बाआमाको उद्धार गर्न।
पहिलो पटक आफूले दुई जना वृद्धलाई आश्रय दिएको उनलाई अझै याद छ।
‘सुरुवाती दिनमा हामीसँग दुई जना बा हुनुहुन्थ्यो’, पन्ध्र वर्षअघिको कुरा सम्झिँदै उनले भनिन्, ‘हाम्रा लागि उहाँहरुको हेरचाह गर्नु सबैभन्दा ठुलो काम थियो।’
आश्रम सञ्चालन गर्दाको सुरुवाती दिनहरुमा आफूहरुले धेरै दुख सहेको उनी बताउँछिन्। बाआमाको पेट पाल्न घरदैलो कार्यक्रम नै चलाएर हिँडेको उनले सुनाइन्। ‘हामीले हाम्रा बाआमाका लागि घरदैलो कार्यकम चलायौँ। बोरा बोकेर हामी घरघरमा खानेकुरा माग्न जान्थ्यौँ’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘एक मुठी चामल भएपनि लिएर आउँथ्यौँ।’
बाआमाका लागि बोरा बोकेर खानेकुरा माग्न जाँदा उनीहरुलाई मान्छेहरुले भन्ने गर्थे, ‘तपाईंहरुलाई के दिनु र, आफू नै मागेर हिँड्ने अवस्था भइसक्यो!’
खानेकुरा मागेर जाने घरबाट मात्र होइन, बाआमाका लागि लिएको डेरा धनीले समेत उनीहरुलाई हपार्ने गर्थे।
‘हामीले बाआमालाई राख्नका लागि घरकाे एक फ्ल्याट भाडामा लिएका थियौँ, त्यसको लागि हामीले ७ हजार तिर्नुपर्थ्यो’, उनले विगत स्मरण गर्दै भनिन्, ‘२५ हजार नतिरेको कारण हामी कोठाभित्र हुँदाहुँदै बाहिरबाट घरबेटीले ताला लगाइदिएकाे थियो।’
आफूले विगतमा गरेको दुखकै कारण अहिले सुख भएको उनको बुझाई छ। ‘अहिले कुनै कुराको दुख छैन। सबै दाताहरुले पुर्याइदिनु भएको छ, त्यही कुरामा हामी खुसी छौँ।’
हिमालय वृद्धाश्रमले ४४ जना बाआमाको हेरचाह कसरी गरिरहेको छ?
४४ जना बसाेबास रहेकाे उक्त आश्रममा शारीरिक अपाङ्गता भएका बाआमा पनि छन्। उनीहरूकाे स्याहार गर्न मुस्किल हुने हिमालय वृद्धाश्रमकी संस्थापक उपाध्यक्ष विन्दा पौडेल बताउँछिन्।
‘हामीले लगाइदिएको कपडा एकैछिनमा निकालेर फ्याल्नुहुन्छ, फेरि हामीले नै लगाइदिन्छौँ’, उनी भन्छिन्, ‘कहिलेकाहीँ त हामीलाई कुट्नुहुन्छ तर हामीले कुटाइलाई नै आर्शीवाद मानेर खुसी भएका छौँ।’
आफ्नो संस्थाले ८० देखि ९० जना बाआमाको बिदा गरिसकेको उनले बताइन्। ‘उहाँ बाआमाहरु यही संस्थाबाट स्वर्गीय हुनुभएको हो’, आफ्नो कार्यालयको भित्तामा टासिँएको तस्बिर देखाउँदै उनले भनिन्, ‘कति बाआमाको त फोटाे खिच्नै पाएनौँ।’
आफूहरुसँग भएका बाआमालाई खुसीसँग राखेको उनको दाबी छ। भन्छिन्, ‘उहाँहरुलाई हामीले केही दुख दिएका छैनौँ, बाआमाहरु खुसी हुनुहुन्छ होला भन्ने हाम्रो बुझाई छ।’
आश्रमको व्यवस्थापन कसरी भइरहेको छ?
आश्रममा रहेका बाआमाहरूकाे खानपिनदेखि स्वास्थयसम्मको हेरचाह आफूहरूले राम्राेसंग गर्दै आइरहेकाे आश्रमकी कोषाध्यक्ष शोभा सापकोटाले बताइन्।
‘उहाँहरुको खानपिनदेखि स्वास्थयसम्मको हेरचाह हामीले नै गर्नुपर्छ, जसको लागि बाह्रदेखि तेह्र हजारसम्म खर्च हुन्छ’, उनले भनिन्, ‘यो सबैको लागि हामीलाई हाम्रा दाताहरूले नै सघाउनुभएको छ।’
सातामा एकदिन बाआमाको लागि विशेष खाना खाजा बनाइने गरेको उनले बताइन्। ‘कहिले विशेष दिनमा पनि बाआमाकै सल्लाहबमोजिम खाना बनाइने गरिएको छ’, उनले भनिन्, ‘यतिमात्र होइन हामीले बाआमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि र शरीर फिट राख्नका लागि दिनको एक घण्टा व्यायाम पनि गराउने गरेका छौँ।’
बाआमालाई सन्तुष्ट बनाएर राख्नु नै आफूहरुको कर्तव्य भएको उनी बताउँछिन्।
आश्रमबारे के भन्छन् आमा?
हिमालय वृद्धाश्रममा एघार वर्षदेखि बस्दै आएकी आमा हुन्, ६६ वर्षीय हिमादेवी बस्नेत। जसलाई सबैले, ‘भान्जी आमा’ भनेर बोलाउने गर्छन्।
उनले त्यो उपनाम त्यत्तिकै पाएकी होइनन्। त्यसको पछाडि पनि छुट्टै कहानी छ। गाउँमै रमाएर बसेकी उनलाई काठमाडौंमा बस्ने छोरी बोलाइन्। एक्ली छोरीले बोलाउँदा खुसी हुँदै उनी काठमाडौं आइन्।
नेपालटारमा बसेकी उनकी छोरीले आफ्नै आमालाई ‘माइजू’ हो भन्दै अरूसामु चिनाइन्। त्यसको कारण थियो, उनको गरिबी।
छोरीले आफूलाई ‘माइजू’ भनेर सम्बोधन गरेपनि उनी चुपचाप सहेर बसेकी थिइन्। तर विस्तारै उनलाई छोरीले गालीगलौज गर्दै भन्न थालिन्, ‘तँ बूढीलाई अब म पाल्न सक्दिनँ, मेरो घरबाट निस्किएर जा!’
छोरीको कुरा सुनेर सिसाझैँ टुक्रिएकी उनी सडक पेटीमा भौतारिन थालिन्। त्यसै क्रममा उनी हिमालय वृद्धाश्रम पुगिन्। आफ्नी छोरीले माइजू भनेका कारण सबैले उनलाई ‘भान्जी आमा’ भन्नेर सम्बोधन गर्न थाले।
छोरीसँग बिछोडिएको दशक कट्यो तर अझैसम्म भेट नभएको उनले बताइन्। ‘धेरै भयाे मैले छोरीको अनुहार देखेको छुइनँ, उसले पनि मेरो अनुहार देखेको छैन’, उनले भनिन्, ‘अब त बिर्सि होलिन्।’
जहाँ बसेपनि एक मुठी सास फ्याल्नु त हो नि भन्दै उनले भनिन्, ‘दिनदिनै बूढी भइसकेँ, अब कतिन्जेल पो बाँचुला र? तर म जहाँ छु, यहाँ एकदमै खुसी छु। मलाई केही कुराको कमी छैन। यहाँ सबै कुरा पुरा भएको छ।’
बूढी भइसकेकी आफूलाई पालनपोषण गरेकोमा आश्रमप्रति खुसी छिन्, भान्जी आमा। भन्छिन्, ‘मेरो बूढौलीको साहारा बनेकोमा यो आश्रमलाई मुरीमुरी धन्यवाद!’