सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन्।
एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन्। आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ।
सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ। आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन्।
एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए। तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो।
सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन्। उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए। ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन्।
२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका हुन्।
हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन्। अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन्।