निर्वाचन विधेयक

समानुपातिक सांसद २ पटकभन्दा बढी हुन नपाउने, मतपत्रमा नो भोटको व्यवस्था

File Photo
File Photo

निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ। आयोगले उक्त मस्यौदा सरकारलाई पठाउने निर्णय गरेकाे छ।    

जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नपाउन प्रस्ताव गरिएकाे छ।

मस्यौदामा भनिएको छ, 'समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने।'

यसैगरी आयोगले 'नो भोट' अर्थात कसैलाई पनि मत दिन्नँ भन्ने अधिकार मतदातालाई रहने गरी कानूनी व्यवस्था गर्न प्रस्तावसमेत गरेकाे छ।

'कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था (NOTA) गर्ने,' प्रस्तावमा भनिएको छ, 'मतपत्र गणना गर्दा कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मतसंख्या (NOTA) त्यस्तो निर्वाचनमा मतदान भएको कूल सदर मतको ५० प्रतिशतभन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्द हुने।'

प्रकाशित मिति: : 2023-07-03 17:57:00

प्रतिकृया दिनुहोस्