हल्का वर्षा र हिमपातको सम्भावना

File Photo
File Photo

देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ।

बिहान र बेलुकीका समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस छ। 

प्रकाशित मिति: : 2022-02-21 11:27:00

प्रतिकृया दिनुहोस्