ललितपुर प्रहरीको सफलता

जावलाखेल भलिबल क्लबका टीम म्यानेजर लागुऔषधसहित पक्राउ (भिडियोसहित)

करिब ३ महिना अगाडी ललितपुर प्रहरीलाई एक सुचना आयो।

त्यो सूचना थियो, ललितपुर कुमारीपाटीका अनुप श्रेष्ठले लागुऔषध कारोबार गर्ने गरेको। अनुप जावलाखेल भलिबल क्लबका टीम म्यानेजर हुन्। त्यती मात्र हैन अनुपको अर्को परिचय समाजसेवी पनि हो। 

उनले ललितपुर महानगरपालिकासँग मिलेर टोल-छिमेकमा पार्क निमार्ण गर्नेदेखि टोल सुधारका कामसमेत गर्दै आएका थिए।

खेलाडी तथा समाजसेवी अनुपले लागुऔषध कारोबार गर्ने गरेको काचाे सुचनालाई केलाएर उनको कालो कर्तुत बाहिर ल्याउन प्रहरीको लागी सानो चुनौती थिएन।

त्यसका लागि ललितपुर प्रहरीले एक विषेश टोली नै परिचालन गर्यो। त्यो टोलीलाई अनुपको कालो कर्तुत पत्ता लगाउन करिब तीन महिना लाग्यो।

तीन महिनाको अनुसन्धानपछि प्रहरीले आइतबार कुमारीपार्टीबाट अनुपलाई ५० ग्राम लागुऔषध (एम मेथावाईन)सहित रंगे हात पक्राउ गरेकाे ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी  दिइन्।

बज्राचार्य ललितपुर प्रहरी प्रमुख भएर गएलगतै लतिपुरमा हुने गरेको लागुऔषध कारोबारलाई निरुत्साहीत पार्न अभियाननै सञ्चालन गरेकी थिइन्।

प्रहरीले अनुपसँगै अन्य दुईजना अम्रिता खड्का र परदु गुरुङलाई पनि पक्राउ गर्यो। प्रहरीले अनुपको कोठाबाठ ५० ग्राम अवैध लागुऔषध (एम मेथावाईन-आईस), त्यसलाई जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैयाँ बरामद गर्यो।

अनुसन्धान अधिकारीका अनुसार  अनुप आफै सेवनकर्ता हुन् र उनले लागुऔषधको डिलर नै चलाएको अनुसन्धानबाट खुलेको छ।

प्रहरी थुनामा रहेका अनुपले आफू जावलाखेल भलिबल क्लबको टिम म्यानेजरको रुपमा रहेको र क्लबको सदस्यसमेत रहेको बताएका छन्। 

त्यस्तै अनुपले आफू समाजसेवामा लाग्ने गरेको समेत बताए। 'जावलाखेल भलिबल क्लवको टिम म्यानेजर भएर धेरै गेम खेले र क्लबको सदस्य पनि हुँ', अनुपले भने

उनले नगरपालिकासँग मिलेर पार्क बनाउदै गरेको पनि बताएका छन्। प्रहरीका अनुसार परदु गुरुङ र अम्रिता खड्का लाई पनि अनुपसँगै पक्राउ गरिएकाे हाे। उनीहरु अनुपका ग्राहक हुन् वा उनका साझेदार हुन्, त्यसका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

समाज सेवाकाे नाममा अनुपले लामो समयदेखि लागुऔषधको धन्दा चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गाेप्य सूचना पाएको तीन महिनासम्म प्रहरीले अनुपको बारेमा अनुसन्धान गरेकाे थियो। 

प्रहरीले पाएको सूचना अनुसार अनुपले लागुऔषधको कारोबार गर्ने गरेको र उनको साथमा लागुऔषध रहेको यकिन भएपछि प्रहरीले उनको कोठामा छापा मारि नियन्त्रणमा लिएको हो।

अनुपले बेच्ने लागुऔषध महंगो मुल्य मध्येको एक हो। एम मेथावाइन नेपालमा पाइदैन। बिदेशबाट आयात हुने भएका कारण यो मंहगोमा बिक्री हुने अनुसन्धान अधिकारीको भनाई छ।

अनुप पक्राउ परेसँगै प्रहरीले अनुपको गिरोहबारे पनि अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: : 2021-05-30 21:24:00

प्रतिकृया दिनुहोस्