आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस। १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ।