नेपालको पासपोर्ट १०५औं स्थानमा, ३७ देशमा अन-अराइभल भिसा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

नेपालको पासपोर्ट विश्व वरियतामा १०५औं स्थानमा रहेको छ। पासपोर्ट बरियता जारी गर्ने संगठन हेन्ली एन्ड पार्टनर्सले २०२२ का लागि जारी सूचीमा ३७ देशमा अन अराइभल भिसा पाउने नेपाली पासपोर्टलाई यो वरियता प्राप्त भएको हो।

यसअघि सन् २०२१ मा ३७ देशमै अन अराइभल भिसा पाए पनि नेपाली पासपोर्ट ११०औं स्थानमा थियो। यस वर्ष नेपाल पाँच स्थान माथि उक्लेको छ। तर, २०२० मा नेपालको पासपोर्टलाई ३८ देशमा अन अराइभल भिसा मिल्थ्यो र वरियता पनि १०१औं थियो।

दक्षिण एसियामा नेपालभन्दा अघि माल्दिभ्स ५८औं स्थान, भारत ८४औं, भुटान ९०औं, श्रीलंका १०२औं र बंगलादेश १०३औं स्थानमा रहेका छन् भने नेपालभन्दा पछाडि रहेका पाकिस्तान १०८औं र अफगानिस्तान १११औं स्थानमा छन् ।
 

दक्षिण एसियाली देशमध्ये माल्दिभ्स ८८ देश, भारत ५९, भुटानी ५३ देश, श्रीलंका ४१ देश, बंगलादेश ४० देश, नेपाल ३७ देश, पाकिस्तान ३१ देश, भारत ५९, र अफगानिस्तानका पासपोर्ट २६ देशमा अन अराइभल भिसा पाउँछन् ।  

विश्वमा अन अराइभल भिसा (प्रवेश नाकामै दिइने भिसा) दिने राष्ट्रको संख्याको आधारमा कुनै पनि देशको पासपोर्टको वरियता हासिल हुन्छ।  

जापान र सिंगापुर १९२ देशका साथ प्रथम बरियतामा छन्। विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिका भने १८६ राष्ट्रका साथ छैठौ स्थानमा रहेको छ।  

प्रकाशित मिति: : 2022-02-15 07:16:00

प्रतिकृया दिनुहोस्