गणतन्त्रवादीहरूले एकता दिवसमा बिदा नदिने एउटै कारण गुलामीबाट ग्रसित मानसिकता र पत्तासाफ हुने डर हो
राज्यहरूको एकीकरण र राष्ट्र निर्माणमा राजा पृथ्वीनारायण शाहले देखाएको बहादुरीको इतिहास धनशक्ति वा सैन्यशक्तिभन्दा इच्छाशक्ति अपराजित हुन्छ भन्ने शाश्वत सत्य–सन्देश हो। राष्ट्र निर्माण गर्दा पृथ्वीनारायण शाहले इच्छाशक्ति मात्र होइन, युक्ति र भक्ति पनि जुटाए र एउटा अदम्य साहस पैदा भयो। त्यसले सबै असम्भवलाई सम्भव बनायो। जटिलता र चुनौतीलाई अवसरमा बदल्यो। ‘आफ्नो साम्राज्यमा कहिल्यै घाम नअस्ताउने’ महाशक्ति बेलयायतसँग लडाइँमा भिड्नु सामान्य साहस थिएन। उत्तरको तत्कालीन तिब्बत र चीन पनि गोर्खाभन्दा अतुलनीय साधनसम्पन्न र शक्तिशाली थिए। तैपनि पुर्खाले हामीलाई एउटा स्वाभिमानी र स्वाधीन राज्य मात्र दिएनन्, वीरताको पर्यायवाची विश्वव्यापी पहिचान ‘गोर्खाली’ पनि दिए। भारत र बेलायती सेनामा भर्ती हुन जाने नेपालीले पाएको ‘द गोर्खाज्’ संज्ञा एवं गोर्खाल्यान्ड राज्यका लागि भारतीय आन्दोलन नेपाल एकीकरणको उत्तरदान हो।
राष्ट्र निर्माणका लागि एक्लो गोर्खाली राजा वा उनको फौज मात्र लडेका होइनन्। सिंगो राज्य लड्दा मात्र युद्ध जितिन्छ र लक्ष्य हासिल हुन्छ भन्ने पृथ्वीनाराणको दृढ मान्यता थियो। तत्कालीन अन्य मित्रराज्यबाट पनि उनले यथेष्ट सहयोग जुटाउन सके। उनले राज्य जोडे र एकीकृत राष्ट्रमा ‘थिति बाँध्ने’ काम पनि गरे। यसरी नेपालको सार्वजनिक प्रशासनको इतिहास, राष्ट्रनिर्माणको पहिलो चरण (विसं १८२६) बाट प्रारम्भ हुन्छ।
नेपाल नामकरण नभएको त्यस युगमा छरपस्ट पहाडी राज्यहरू पाँच राज्य–समूहमा विभक्त थिए– (१) ‘तीन सहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, (२) गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङअन्तर्गतका चौबीस राज्यको समूह, (३) कर्णाली क्षेत्रस्थित हुम्ला–जुम्ला राज्यअन्तर्गत पर्ने बाइसे राज्य समूह, (४) पूर्वमा कोसी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रूपमा रहेका एघार रजौटा समूह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्ने गरेका छन्, र (५) सुगौलीको सन्धिमा गुम्नुअघिका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ (सिक्किम) र त्यसअन्तर्गतका राज्य–समूह। पृथ्वीनारायण शाहले एकीकृत राष्ट्रको नामकरण ‘गोरखा’ भनेर गरेनन्। छोराहरूले काठमाडौँ उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा उनले राज्य बाँड्ने होइन, जोड्ने हो भनी इन्कार गरे। यसको अर्थ उनको लक्ष्य गोर्खा राज्यको विस्तार थिएन र पारिवारिक शासनका लागि पनि थिएन, राष्ट्र–निर्माणको पुनित लक्ष्य नै थियो।