दिल्लीमा बढ्न थाल्यो कोभिड सङ्क्रमण दर, नागरिकलाई सावधानी अपनाउन सुझाव

बिएल संवाददाता

नयाँ दिल्ली 
File photo
File photo

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्। 

कोरोना भाइरसको ओमिक्रोन भेरिउन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको हो। 

लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०।५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताए। 

दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ। चेतावनीसँगै चलचित्र घर र व्यायामशाला बन्द भए पनि व्यापारिक केन्द्र र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको बीबीसीले जनाएको छ।

दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन्। विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले जानकारी गराएका छन्। 

प्रकाशित मिति: : 2021-12-28 20:59:00

प्रतिकृया दिनुहोस्