यतिखेर माओलाई सम्झिनुको अर्थ

अहिले हामी परम्परागत प्रतिक्रियावादीसित मात्र नभई कम्युनिस्ट नामका संसद्वादी नवप्रतिक्रियावादीसित पनि लडिरहेका छौँ

स्टालिनको मृत्युपछि रसियाली कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिनविरोधी अभियान र ‘शान्तिपूर्ण संक्रमण’को माक्र्सवाद–लेनिनवादविरोधी अभियानलाई लिएर विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो। साम्राज्यवादी मुलुकले मात्र नभएर कम्युनिस्ट पार्टी र मुलुक भन्नेहरूले समेत आफूलाई ख्रुस्चेवको लाइनमा उभ्याए। अब युरोपको स्थितिमा युरोपकै हावापानीअनुसारको साम्यवाद भनेर युरो–कम्युनिज्मको हावासँगै ‘नव– वामपन्थ’को हुन्डरी चल्यो। जति स्टालिनको विरोध गर्‍यो, त्यति क्रान्तिकारी र वस्तुवादी, मुलुक बुझेको, विश्वस्थिति बुझेको र समयअनुसार चल्न सक्ने कम्युनिस्ट दरिने स्थिति भयो। सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर बनाउने अभियान चलाइयो।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी निर्माण अभियानमा लागेको चिनियाँ समाजका लागि यो निकै ठूलो चुनौती थियो। यस किसिमको दक्षिणपन्थी हुन्डरीविरुद्ध माक्र्सवाद–लेनिनवादको झन्डा लिएर माओत्सेतुङ उभिनुभयो। सुरुमा उहाँलाई साथ दिनेहरू अल्बानियाका अनवर होक्जा र युगोस्लाबियाका टिटो सबैले छाडे। विश्व कम्युनिस्ट आन्दोलनमा उहाँ अल्पमतमा पर्नुभयो। तर, अलिकति पनि विचलित नभई उहाँ माक्र्सवाद–लेनिनवादको झन्डा लिएर खु्रस्चेव, खु्रस्चेवपन्थी र  साम्राज्यवादपरस्त चिन्तन र व्यवहारविरुद्ध उभिनुभयो। विश्व समाजवादी शिविर दुई क्याम्पमा विभाजित भयो।

माओविरुद्ध युरोपेली मुलुकमा एक किसिमको अभियान नै चलाइयो। माओलाई ‘विश्व समाजवादी शिविरविरुद्ध गएको’, ‘अमेरिकी साम्राज्यवादलाई सघाउ पुर्‍याएको’ मात्र नभनी ‘सिआइएको एजेन्टसम्म’को अभियोग लगाइयो। खु्रस्चेवको नेतृत्वमा रहेको रुस र उसका सहयोगी राष्ट्रहरूद्वारा नाकाबन्दीको स्थिति उत्पन्न गराइयो। खु्रस्चेवले हाकाहाकी चीनमाथि आक्रमणको धम्कीसमेत दिए र सिमानामा आतंक मच्चाए। तर, माओ दृढतासाथ माक्र्सवाद–लेनिनवादको पक्षमा उभिनुभयो।

प्रकाशित मिति: : 2021-12-28 10:35:00

प्रतिकृया दिनुहोस्