भुटानका कारागारमा रहेका आस्थाका बन्दीहरूको मुद्दालाई अन्तर्राष्ट्रिय गरिएको छ। यसका लागि अमेरिका, बेलायत, न्यूजिल्याण्ड, डेनमार्क, अष्ट्रेलियालगायतका मुलुकमा पुनर्बासमा रहेका अगुवा भुटानी शरणार्थीहरूले भुटानी राजनीतिक बन्दी रिहाइका लागि विश्वव्यापी अभियान नै स्थापना गरेर यो मुद्दालाई अन्तर्राष्ट्रिय गरेका हुन्।
अभियानका संयोजक राम कार्कीका अनुसार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर अमेरिका, बेलायत, न्यूजिल्याण्ड, डेनमार्क, अष्ट्रेलियासहितका भुटानी शरणार्थी पुर्नवासमा रहेका मुलुकका सरकार वा सम्बद्ध कुटनीतिक नियोगमा भुटानी राजनीतिक बन्दी रिहाइको अपील गरिएको छ।
नेदरल्याण्डको राजधानी हेगमा रहेका कार्कीका अनुसार न्यूजिल्याण्डमा सुदर्शन अधिकारी, अष्टेलियामा इन्द्र अधिकारी, बेलायतमा प्रेम गिरी, डेनमार्कमा पूर्ण दाहाल, अमेरिकामा सीएम निरौला र नवीन नेपाल र क्यानडामामा प्रकाश गौतमले सम्बन्धित देशका विदेश मन्त्रालयमा अपिल पठाएर ध्यानाकर्षण गरेका हुन्।
अभियानका संयोजक कार्कीका अनुसार अपिलको प्रारम्भिक प्रभाव सकारात्मक देखिएको छ। उनले भने, ' न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले परराष्ट्रमन्त्री नानैया महुतालाई यस विषयमा आवश्यक पहल लिन निर्देशन दिएको बताएकी छन् । अमेरिकी सिनेटर मार्शल ब्ल्याकबोनले भुटानका राजालाई राजनीतिक बन्दी रिहा गर्न अनुरोध पत्र पठाइसकेका छन्।अन्य देशका सरकारले पनि यस विषयलाई गम्भीरताका साथ लिने जानकारी दिएका छन्।'
भुटानका कारागारमा अहिले पनि सयौंको संख्यामा आस्थाका बन्दी रहेको बताइनछ। १९८० दशकको अन्ततिर नेपाली मूलका नेपालीमाथि सुरू भएको अत्याचारले आन्दोलनको रूप लिएपछि सयौको संख्यामा पक्राउ गरिएको थियो। दर्जनौको हत्या गरियो, सयौ बेपत्ता पारियो। त्यही आन्दोलनका क्रममा पक्राउ परेका सयौं नेपाली मूलका भुटानीहरू अहिले पनि जेलमा कष्टसाध्य जीवन बिताइरहेको बताइन्छ।
तर, भुटान सरकारले भने भुटानी जेलमा आस्थाका बन्दी नभएको दाबी गर्दै आएको छ। उसले आस्थाका बन्दीलाई पनि अन्य फौजदारी मुद्दा लगाएर पानीमाथिको ओभानो हुँदै आएको पुनर्बासमा रहेका भुटानी मानवअधिकार अभियन्ताहरू बताउँछन्।