निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै सकिन लागेको र स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था रहेको पौडेलले जारी गरेको विज्ञप्तिमा स्मरण गराइएको छ।
'सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो।
आयोगको प्रस्तावमा मन्त्रिपरिषदले यसबारे निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ।