नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै समस्याहरू खेप्न परेको बताएका हुन्।
उनले भने,‘देशमा सबैभन्दा ठूलो समस्या अहिले राजनीतिमा देखा परेको छ। राजनीति जनतातिर फर्किएन। राजनीतिक आन्दोलनको संघर्षको बेलासम्म जनतासम्म फर्कियो तर निर्माणको बेला, जनतालाई साथै लिएर यात्रा गर्ने बेला वा देश विकास गर्ने बेला राजनीति जनतातिर होइन विदेशतिर फर्कियो। मालिकतिर फर्कियो। मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरू डुले। नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन। त्यसैले आजका थुप्रै समस्याहरू खेप्न परेको छ।’
उनले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन आग्रह गर्दै नेपाली जनताले विश्वास गरे आफ्नो पार्टीले बहुमत वा दुई तिहाइ सिट ल्याउने बताए।
उनले भने, ‘एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधीनताका लागि प्रयोग गर्ने हो। हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ। देशलाई स्वाधीन बनाउने एजेन्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकैचोटी जाने विचार छ। यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने।’
त्यस्तै उनले नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी आफ्ना मित्र रहेको बताए।
उनले भने,‘हामीले नेपाली जनताको मन छामेका छौं। नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन्। नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने चाहना छ। नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं।’
त्यस्तै उनले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी समेत गरे ।
साथै उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहनाले भोलि (सोमबार) काठमाडौंको बुढानीलकण्ठमा व्यापारीक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए।