माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता [विज्ञप्तिसहित]

नेकपा (माओवादी केन्द्र) र नेकपा मसालबाट छुट्टिएर बनेको मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता भएको छ। शुक्रबार त्रिपुरेश्वरमा आयोजित समारोहबीच पार्टी एकता घोषणा भएको हो।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो। जसका ३२ जिल्लामा संगठन र ६ जिल्लामा सम्पर्क कार्यायल रहेका छन्।

उक्त समूहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए। स्वागतपछि प्रचण्डले यो एकता कुटनीतिक एकता नभएर वैचारिक एकता भएको बताएका छन्।

‘इतिहास विचित्रसँग अगाडि बढ्दो रहेछ। मानिसको इच्छाअनुसार अगाडि बढ्दैन रहेछ। विज्ञानको नियमअनुसार अगाडि बढ्दो रहेछ,’ प्रचण्डले भने,‘त्यसैले समाजवादसम्म पुग्ने हाम्रो उदेश्यले पार्टी एकता भयो।’

त्यस्तै, मसालबाट छुट्टिएर माओवादी केन्द्रमा प्रवेश गरेको मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले आफूहरुबीचको पार्टी एकता आजको आवश्यकता रहेको बताए।

‘यो पार्टी एकता आजको आवश्यकता हो। विभाजित भएर समाजवाद स्थापना गर्न सकिँदैन, नेपाली जनताको आवश्यकता पूरा गर्न सकिँदैन। मार्क्सवाद गतिशिल हुनुपर्छ,’ लम्सालले भने, ‘अलग भएर जनताको सपना पूरा गर्न सकिँदैन भन्ने निष्क्रियमा पुगेर पार्टी एकता गर्ने निर्णयमा पुगेका हौँ।’

उनले आफ्ना मतहरु सुरक्षित गरेर पार्टी एकता गरेको बताए। ‘जुन हाम्रा संगठन र सम्पर्क केन्द्रहरु रहेका छन्, यी अब माओवादी केन्द्रको सम्पत्तिका रुपमा हस्तान्तरण गर्दछौँ,’ उनले भने, ‘यो घडीमा हामी गौरवान्दित छौँ।’ उनले अब माओवादी केन्द्र कमजाेर नहुने बताए।

प्रकाशित मिति: : 2021-12-24 16:30:00

प्रतिकृया दिनुहोस्