पुँजी बजारमा आएको पछिल्लो तरंगले मध्यम र निम्नवर्गीय नेपालीको चुलोमा समेत असर पर्न थालेको छ
०५० साल ३० माघमा आधार बिन्दु १०० बाट सुरु भएको नेप्से ३७ वर्षमा करिब तीन हजार २०० प्रतिशतले वृद्धि भई ०७८ भाद्रको पहिलो हप्ता तीन हजार २०३ सम्म पुग्यो। ०५०/५१ मा दैनिक कारोबार औसतमा १८ लाख भएकोमा कारोबार २१ अर्बमाथिसम्म पुग्यो। जुन आकारले बजार, लगानीकर्ताको संख्या र कारोबार बढेको छ, नियामकीय क्षमता भने त्यसअनुरूप बढेको देखिँदैन। एक दशकको अवधिमा सेबोनको आयमा २० गुणाले वृद्धि भएको छ।
०६७/६८ ताका बजारबाट सेबोनको आय पाँच करोड थियो। यो वर्ष सजिलै एक अर्ब हाराहारी हुने देखिन्छ। धितोपत्र बजारको बढ्दो गतिशीलताका कारण नियामकको काम गर्ने तरिका र गुणस्तरमा उल्लेखनीय सुधारको आवश्यकता छ। पुँजी बजार राज्यको भरपर्दाे आयस्रोत र उद्योग तथा विकास परियोजनाहरूका लागि पुँजी पारिचालनको प्रमुख स्रोतमा विकास हुँदै गर्दा, पुँजी बजारको विकासमा बाधकका रूपमा चार प्रमुख चुनौती छन्। पहिलो, नेतृत्वको अभाव। दोस्रो, भित्री कारोबार र चलखेल। तेस्रो, नियामकबीच तालमेलको कमी। र चौथो, सरकार र राजनीतिक नेतृत्वको उपेक्षा।
नेतृत्वको अभाव : वर्तमान अवस्थामा लगानीकर्ताको संख्या, लगानीको आकार र प्राविधिक आवश्यकता हेर्दा अहिलेको स्तरको नेतृत्वले बजारको दिगो विकासमा खासै भूमिका निर्वाह गर्नेजस्तो देखिँदैन। धितोपत्र बजारको गहिराइ बढेसँगै, यससँग सम्बन्धित कसुरले बजारलाई धेरै जोखिमपूर्ण बनाएको छ। करिब तीन महिनाअघि बजारमा तरलताको अभाव हुने र ब्याजदर बढ्ने संकेत थियो। नियामकले कमिसन, मार्जिन कारोबारजस्ता उपकरण र अन्य सकारात्मक निर्णयमार्फत बजारलाई दुर्घटनाबाट बचाउन सक्थ्यो, तर अनिर्णयको बन्दी हँुदा बजारले करिब १७ हप्तामै ८०० बिन्दुले गुमायो।