एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'ले सेयरबजारबारे दिएको विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन्।
प्रचण्डको नामै उल्लेख गरी ओलीले भनेका छन्, 'कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा उनले ठोकिदिए।’
एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएपछि सम्बोधन गर्दै ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने भएर नयाँ थेसिस प्रतिपादन गरेको भनेर आरोप लगाएका छन्।
‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर शेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने।
प्रचण्ड लेनिनभन्दा जान्ने बनेको आरोप पनि उनले लगाए। 'साम्राज्यवादको विकासित रुप सेयर बजार हो रे ! लेनिन भन्दा पनि बढी जान्ने भएछन् प्रचण्ड', ओलीले भने, 'पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए। त्यसभन्दा पनि माथि गएर प्रचण्डले साम्राज्यवाद विकासित भएर पुँजीवाद हुन्छ भनेछन्।'
प्रचण्डले नयाँ 'थेसिस' निकालेको बताउँदै उनले भने, 'त्यसपछिका दुई दिनमै शेयरबजार धराशायी भयो। अर्थतन्त्र केही पनि मतलब छैन। कुन शेयर कारोबारीले चन्दा दिएन होला। नरहे बास, नबजे बाँसुरी! जनताको जीवनमा कति असर हुन्छ, तिनीहरुको आर्थिक अवस्था कस्तो हुन्छ ? केही पनि मतलब छैन।'
एमालेका नेताले त्यस्तो गर्दथ्यौं भने सडकमा विरोध हुने गरेको बताउँदै उनले भने, 'माइतीघरले पुग्दैनथ्यो। सडक तात्दथ्यो। सञ्चारमाध्यमा आगो बल्दथ्यो। तर अहिले आराम छ। कोही बल्दैन। यस्तो अस्थिरता क्रेट गर्ने हो। यता बिगार्ने, उता भत्काई दिने। यो खालको श्रृंखला चलिरहेको छ।'
शनिबार माओवादीकेन्द्र प्रदेश सम्मेलनलाई काठमाडौंबाट उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजीको लगानी पुँजीमै हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए।
प्रचण्डको यस भनाइको सर्वत्र आलोचना भइरहेको छ।