भीआईपी चढेको विमान त्रिभुवन विमानस्थलमा चराको कारण भन्दै अन्धकार आकाशमा फनफनी घुमाएपछि...

भद्रपुरबाट काठमाडौं आइरहेको बुद्ध एयरको विमान। उडान तालिकाअनुसार अवतरण गरेको भए त्रिभुवन विमानस्थलमा शुक्रवार (मंसिर १७ गते) साँझ साढे ७ बजेअघि नै ‘ल्याण्ड’ भइसक्नुपथ्र्यो तर ‘अवतरण हुने सूचना’ सुनाउने बेलामा विमान–परिचारिकाले बताइन्, ‘विमानस्थलमा चराको गतिविधिले गर्दा हामी ढिला भइरहेका छौँ।’

‘काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवरतरण गर्दैछौँ’ भन्ने बेलामा ‘चराको थ्रेटले गर्दा हामी ढिला भइरहेका छौँ’ भनेपछि विमान अन्धकार आकाशमा घुम्न थाल्यो। यात्रुलाई पनि अचम्म लाग्यो– ‘राति ७ बजे चराको गतिविधि के हुन्छ विमानस्थलमा ? चरा त गुँडमा बास बसिसक्छ।’

यात्रुको मनमा चीसो पस्यो। यात्रुहरु डराए। सबैको मन ढक्क फुल्यो। जमीनबाट कति उचाइमा छौँ भनेर सबै भुइँतिर हेर्न थाले। उक्त विमानमा एमाले उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सवार थिए।

‘अँध्यारो आकाशबाट हेर्‍यो, एकछिनमा अँध्यारो हुन्छ, एकछिनमा उज्यालो देखिन्छ’, नेम्वाङले बिएल नेपाली सेवासँग भने,‘म चढेको विमान सिमरा क्षेत्रमै होल्ड गराएको जस्तो लाग्छ। मलाई पनि त्यो बेला मनभित्र शङ्का लागेको थियो– यति बेला त चरा हुँदैन, कतै यसको चक्का निस्केन कि क्या हो ?’ उनले यसबारे धेरै बोल्न चाहेनन्।

ल्याण्ड गर्न सक्ने अवस्था भएन–विमान घुमाएको घुमाएकै थियो आकाशमा। धेरै विमानहरु होल्डमा परे। अन्तर्राष्ट्रिय उडानहरु पनि ‘डाइभर्ट’ भए।
बुद्ध एयरको उक्त विमानभित्र एयरहोस्टेसले बेला–बेलामा सन्देश सुनाइरहिन्, ‘कतै नहिँड्नुस्, बेल्ट लगाएर बस्नुस्।’ यात्रुको मनभित्र चीसो पस्यो– के भयो भनेर बस्यौँ।

सिमरा क्षेत्रको आकाशमा धेरै चक्कर लगाएपछि ३५ मिनेट ढिला गरी बुद्ध एयरको उक्त विमान अवतरण भयो– साढे ७ बजे।

एयरहास्टेसलाई उत्रँदै गर्दा यात्रुले सोधेँ– ‘नानी, के भएको ?’

उनले जवाफ दिइन्,‘चराको एक्टिभिटी हो भने अगाडिबाट भन्नुभयो। उहाँले हामीलाई जे भन्नु भन्यो त्यही भन्नुपर्छ हामीले।’ रातको अँध्यारोमा  चराको कस्तो ‘एक्टिभिटी’ भन्दा उनी आफैँलाई पनि पत्यार नलागेजस्तो उनको जवाफबाट लाग्थ्यो।

लामो प्रतीक्षापछि अवतरण गरेका यात्रुहरु मन हलुका बनाउँदै घरतिर लागे। शायद् उक्त विमान नै पहिलो विमान थियो जो विमान स्थलमा अवतरण र उडान रोकेपछिको पहिलो विमान थियो।

विमान अवतरण गर्नुअघि त्रिभुवन विमान स्थलभित्र ‘फलो मी’ भन्ने गाडी अगाडि हिँड्ने सानो गाडीहरु चाहिँ यतायता निकै कुदेको त्यहाँका एक चालकले जानकारी दिए।

उडान र अवतरण गर्दा यात्रुहरु अत्यन्तै डराउने गरेका छन् त्रिभुवन विमानस्थलमा। शुक्रबार साँझ पनि सौर्य एयरलाइन्सको  हवाइजहाज उड्दा चीलसँग ठोकिएको स्रोतले जनाएको छ। त्यसपछि विमान स्थलमा उडान–अवतरण बन्द गरिएको थियो।

त्यसपछि विमानहरुलाई ‘डाइभर्ट’ गरिएको थियो। केही अन्तर्राष्ट्रिय उडानलाई पटना समेत फर्काइएको थियो।

पहिले मूलपानीमा डम्पिङ साइट भएको बेलामा चरा ठोक्किने घटना निकै भइरहन्थे तर अहिले उक्त डम्पिङ साइटमा क्रिकेट रंगशाला बनेको एक दशक नाघिससकेको छ तर नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान स्थलको उचित सुरक्षा व्यवस्था नगर्दा यात्रुहरुले जोखिम व्यहोर्नुपरिरहेको विज्ञहरुको भनाइ छ।

कहिले नेपालगञ्ज विमानस्थलमा सुँगुरका पाठा विमानसँग ठोकिन्छन्। कहिले त्रिभुवन विमानस्थलमा चरासँग ठोकिन्छ। चराको गतिविधिका कारण आकाशमै थप ४० मिनेट अड्किएर अन्धकारमा रुमलिन बाध्य भएका नेता नेम्वाङले भने,‘यस्तो अवस्था आउनु दुःखद् कुरा हो। यस्ता जोखिमपूर्ण घटना दोहोरिइरहेका छन्। यस्तो हुन नदिने दायित्व जसको हो, उसले जिम्मेवारी बोध नगरेको प्रष्ट हुन्छ।

प्रकाशित मिति: : 2021-12-05 20:20:00

प्रतिकृया दिनुहोस्