एमालेको दशौं महाधिवेशनमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्।
सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउने नेम्वाङले औपचारिक रुपमा उम्मेद्वारी घोषणा त गरेका छैनन् तर वरिष्ठ उपाध्यक्षमा दाबी प्रस्तुत गरेका छन्।
'म सर्वसम्मतिमा नेतृत्व चयत होस् भन्ने चाहन्छु तर सर्वसम्मति भएन भने साथीभाइहरुसँग सरसल्लाह गरेर उम्मेद्वारी दिनैपर्ला। त्यो अवस्था आएमा मैले लड्ने पद वरिष्ठ उपाध्यक्ष नै हो', चितवन जानुअघि विमानस्थलबाट बिएल नेपाली सेवासँगको टेलिफोन संवादमा भने, ‘अहिलेसम्म साथीहरुको सल्लाह तपाईंले वरिष्ठमा उम्मेदवारी दिनुपर्छ भन्ने छ। यो पद कसैका लागि भनेर सिर्जना गरिएको होइन, पार्टीले अमूक व्यक्तिका लागि भनेर पद सिर्जना गर्दैन।'
महाधिवेशनबाट एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पेखरेल बन्ने भनी उनीनिकट नेता/कार्यकर्ताहरुले खुल्लमखुल्ला प्रचार गरिरहेका बेला एमालेकै अर्का शीर्षनेताले उक्त पदमा चुनाव लड्ने आकांक्षा देखाएका हुन्।
पोखरेल दुई कार्यकाल एमाले महासचिव भइसकेका नेता हुन् । उनीसँग विपक्षीलाई ठाडो प्रहार गर्ने क्षमता राख्छन् । आठ वर्ष सभामुख भइसकेका नेम्वाङले एमालेभित्र सकारात्मक कुरा गर्ने, विनम्र र भलाद्मी नेताको छवि बनाएका छन्।
गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो। उक्त पद हालका महासचिव पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको उनीनिकट नेताहरूले बताउँदै आएका थिए।
यसअघि एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। एमाले अध्यक्ष ओलीले दुई दिनअघि सम्पादकहरुसँग गरेको अन्तर्क्रियामा आफूले सर्वसम्मतिका लागि कसैलाई दबाब नदिने, सर्वसम्मति हुन नसकेमा जो जितेर आउँछ, उही आफ्नो मान्छे हुने बताएका थिए। यसले पनि चुनावमा अध्यक्ष ओलीको भूमिका तटस्थ हुने देखिन्छ।
नेम्वाङ वरिष्ठ उपाध्यक्ष लड्दा रामबहादुर थापा 'बादल' ले वरिष्ठ उपाध्यक्षको दाबी त्याग्ने छन् भने उपमहासचिव घनश्याम भुसालले पनि उक्त पदमा उम्मेद्वारी नदिने स्रोतको दाबी छ।