संखुवासभा हत्या काण्डः के थियो नरेशले चोरेको मोबाइलमा?

डिल्ली पाण्डे

संखुवासभा
file photo
file photo

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा परिवारका तेजबहादुर कार्कीसहित उनका ६ जना सदस्यका परिवारको हत्याको समयमा हराएको मोबाइलमा थप तथ्य फेला परेको छैन।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लालद्धोज सुवेदीका अनुसार प्रहरी फेला परेको मोबाइलमा मृतक रञ्जना कार्कीको व्यक्तिगत फोटो बाहेक अन्य तथ्य फेला नपरेको बताए।

‘हामीले नरबहादुरको साथबाट फेला पारेको मोबाइल मृतक रञ्जनाको हो की होइन भन्ने प्रमाणित गर्नतर्फ लाग्यौं,’ डीएसपी सुवेदीले बिएल नेपाली सेवासँग भने, ‘मोबाइलमा डिलिट भएका फोटोहरु हेर्दा रञ्जनाको व्यक्तिगत फोटोहरु बाहेक अन्य कुनै कुरा फेला परेन।’



संखुवासभा हत्या प्रकरणः प्रहरीको आठ बुँदे 'ब्रिफिङ'मा के छ ?

यसरी पटाक्षेप भयो संखुवासभा घटनाका अभियुक्त लोकबहादुरको नाटक 



तर, प्रहरीले मोबाइलमा अन्य कुनै तथ्य फेला नपरेपछि थप अनुसन्धान गरेको छैन। डीएसपी सुवेदीको भनाईलाई आधार मान्ने हो भने मोबाइल कसको हो भन्ने मात्रै प्रमाणित गरेको देखिन्छ। मोबाइलमा भएका फोटो र त्यसबाट गरिएको फोनको बारेमा अनुसान्धान गरेको देखिँदैन।

हत्या भएको दिनदेखि हराएको मृतक तेजबहादुर कार्कीकी बुहारीको फोन असोज ४ गते हत्या आरोपी लोकबहादुर कार्कीको घरभन्दा तल उनका भाइ नरेशबहादुरले कार्कीले लुकाएको अवस्थामा प्रहरी फेला पारेको थियो। त्यो फोन फेला परेसँगै अन्य ४ जना पनि हत्यामा संलग्न भएको तथ्य बाहिर आएको थियो।



सबैभन्दा पहिले लास देख्ने लाेकबहादुर नै हत्यारा, तेजबहादुरलाई मारेकाे देखेपछि यसरी परिवार नै शिकार बन्याे

संखुवासभा हत्या प्रकरणः  घाँस काट्नै जान डराउन थाले गाउँले



मोबाइल फेला परेपछि हत्याका मुख्य अभियुक्त भनिएका लोकबहादुर कार्की भन्दा पनि अर्का उनका काका खड्गबहादुर कार्की मुख्य योजनाकार र उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की, नरेशबहादुर कार्की र लोकबहादुर कार्कीले सघाएको तथ्य बाहिर आएको थियो।

जिल्ला अदालत संखुवासभाले अहिले उनीहरुलाई पुर्पक्षको लागि असोज १९ गते कारागार चलान गरेको छ। अदालतले अभियुक्तहरुको बयान गरिरहेको छ।

के देखिएको थियो प्रहरी अनुसन्धानमा ?

प्रहरीका अनुसार घटनाको अघिल्लो दिन राति ८ बजेसम्म अभियुक्तहरू लोकबहादुरको घरमा बसी योजना बनाएको खुलेको थियो।

घटनाको दिन तेजकुमारले लोकबहादुरसहितका अभियुक्तहरूलाई खेताला बोलाएको र त्यसैको मौका छोपी हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अभियुक्तहरूले तेजकुमारको हत्या गर्दा ज–जसले थाहा पाउँछ, ती सबैको हत्या गर्ने र अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लैजाने योजना बनाएका थिए।

तेजकुमार लोकबहादुरको घरसम्म आउने निश्चित गर्न खड्गबहादुर कार्की घटनाको दिन बिहान ५ बजे नै तेजकुमार कार्कीको घर गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू’ भनेका थिए।



संखुवासभा हत्या प्रकरण : पाँच दिनसम्म पत्ता लागेन हत्यारा, डराएर छिमेकीले घर छाडे

संखुवासभामा हत्या प्रकरणः हत्याराको नजिक पुगेका छौँ – प्रहरी



तेजकुमारले मादी नगरपालिका– ३ पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की चार जनालाई नै खेताला बोलाएका थिए। तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट तयारी अवस्थामा राखेको बसेका थिए।

खेताला निश्चित गर्न बिहानै लोकबहादुरको घर पुगेका तेजकुमारले ‘अल्छी, अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए। उनका भाइ नरेश र बुवा रणबहादुर घरमै थिए। घरबाट तेजकुमार फर्कने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इशारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि जान्छन्।



संखुवासभा हत्या प्रकरणः घटनास्थलमा नगद, सुनका गहना र मोवाइल सेट भेटियाे

संखुवासभा हत्या प्रकरण : घटना अझै रहस्यमय, बिहानबाट अनुसन्धान सुरु



घर पछाडिको गोगनेको रूखनजिक पुगेपछि लोकबहादुरले तेजकुमारलाई चिर्पट प्रहार गरी लडाएको पाइएको छ। त्यसपछि हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएर बाटोमा झारी घोप्टो पारेर छाडेको प्रहरीले जनाएको छ।

असोज ४ गते प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार–

लोकबहादुरले चिपर्टले हान्दा तेजकुमारले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै हारगुहार गरेको श्रीमती कमलाले सुन्छिन्। त्यो सुनेर उनी ‘मेरो बुढोलाई नमार’ भन्दै आएको र बुहारी रञ्जना पनि सँगसँगै आएको पाइएको छ। पूर्व योजनाअनुसार घटना लुकाउन हस्तबहादुरले कमलाको घाँटीका छुरा प्रहार गर्छन्।

बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झार्छन् र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गर्छन्। मृतक रञ्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको ठाउँसम्म पुर्‍याउँछन्।

मृतक नाबालकहरू दिपेन र गोमा घर नजिकको बाटोमा आएको देखेर हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी चिर्पट समेत प्रहार गरेको हत्या गरेको खुलेको छ। ५ जनाको हत्या गरेपछि उनीहरू मृतक तेजकुमारको घरतर्फ गएको पाइएको छ।

प्रहरीका अनुसार घरमा मृतक ८४ वर्षीया पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्तबहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोकबहादुरले टाउको भित्तामा ठोक्काइ घाँटी बटारेर हत्या गरेका थिए।

घटनामा प्रयोग गरेको चिर्पट र छुरी लोकबहादुरको घरमा लगी रगत पखालेर छुरी बुइँकलमा लुकाएको तथा चिर्पटहरू जलाएको पाइएको प्रहरीले बताएको थियो।

त्यसपछि खड्गबहादुर र निजको छोरा हस्तबहादुर घर जान्छन्। रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको अवस्थामा प्रहरीले फेला पारिसकेको छ।

अभियुक्तहरू घटनापछि लोकबहादुरको घरमा भेला भएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने योजना बनाएका थिए।

यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधि पनि खाने गरेका कारण निजले जिम्मा लिने भन्ने सल्लाह पनि भएको पाइएको छ।
उनीहरूले असोज २१ गते बिहान साढे ५ बजेदेखि पौने ६ बजेसम्म हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको थियो।

५५ वर्षीय तेजकुमार, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, ५४ वर्षीया पत्नी कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ८ वर्षीय विपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो।

किन भएको थियो परिवारकै हत्या ?

अभियुक्तहरूमध्ये खड्गबहादुरले नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती तथा परिवारका सदस्यहरूलाई कुटपिट एवं गाली गलौज गर्ने गरेका थिए।

त्यस्तो देख्दा तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने गरेका थिए। खड्गबहादुरले पनि ‘तँलाई के मतलब, तँलाई म मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको थियो।

यस्तै तेजकुमारले लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेको र नरेशलाई ‘तँ डुँडे, काम नलाग्ने भइस्’ भन्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

रणबहादुरले पनि आफूलाई लठेब्रो भन्दै हेप्ने गरेको र आफू सम्पन्न भएको भन्दै तेजबहादुरले फुर्ती दिने गरेका कारण मनमा इख पालेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-23 17:25:00

प्रतिकृया दिनुहोस्