संखुवासभा हत्या प्रकरणः घटनास्थलमा नगद, सुनका गहना र मोवाइल सेट भेटियाे

प्रहरीद्धारा ‘कल डिटेल्स’ समेत हेर्न सुरु 

Breaknlinks
Breaknlinks

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा भएको एकै परिवारका छ जनाकाे हत्या प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट रकम, सुनका गहना र मोवाइल सेट फेला पारेको छ। 

अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट नौ गेडी मुन्द्री लगायतका सुनका गहना, करिब चार लाख रुपैँया नगद, चार सेट मोवाइल फोन फेला परेको अनुसन्धानमा संलग्न सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी दिएका छन्।

मादी– १ उम्लिङस्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीको टोली, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा बाकसमा राखिएका नगद, गहना र माेवाइल सेट भेटिएकाे थियाे।

आइतबार राति भएको एकै परिवारका छ जनाको हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुई वटा तालिम प्राप्त कुकुर समेत खटाई अनुसन्धानमा निरन्तर लागिरहेको प्रहरीले जनाएकाे छ।  प्रहरीका अनुसार मंलबार बिहान घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरीक्षक रुकमबहादुर कुवँरको कमान्डमा रहेको टोली घटना स्थल पुगेर अनुसन्धानको प्रक्रियालाई झनै फराकिलो रुपमा अगाडि बढाइएपछि घटनास्थलबाट उक्त सामानहरु फेला परेको जनाइएको छ। सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाए।

अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। उनका अनुसार घटना भएको घरमा घरमुली ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्। शवलाई मंगलबार पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हत्याको कारण यही हो भन्न सकिने अवस्था अहिले नै नभए पनि घरमा नगद रहेको आशङ्कामा सोही पैसा लुट्नका लागि परिवारका सबैको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

हत्या भएका तेजबहादुर कार्कीका दुवै छोरा वैदेशिक रोजगारीका लागि विदेशमा छन्। जेठो रमेश कार्की मलेसियामा र कान्छो नरेश दुवईमा छन्। छोराहरुले विदेशबाट कमाएर पठाएको पैसाले जग्गा किन्ने तयारी हुँदै गर्दा घटना भएको अनुमान गरिएको हो।

तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रञ्जनाको शव घरनजिकै खोल्सीमा भेटिएको थियो। तेजबहादुरका नाति र नातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको थियो। घटनास्थलमा मकैबारी माडिएको, चुरा फुटेको भेटिएको थियाे।

६ जनाको हत्या प्रकरणमा ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ। मृतक सबैको टाउको र शरीरमा धारिलो हतियार प्रयोग नभई रड प्रहार गरी हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन संखुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको निरीक्षक योगराज खतिवडाले बताए। उनका अनुसार प्रहरीले मृतकहरुको टेलिफोन सम्पर्कमा रहेका व्यक्तिहरुसँगको ‘कल डिटेल्स’ समेत हेर्न सुरु गरेको छ।

उक्त घटनामा संलग्नता दोषीको खोजी कार्य जारी रहेको र अपराधी पत्ता लगाएर चाँडै कारबाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धानमा लागि परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन्। घटनाको सत्य तथ्य छिटोभन्दा छिटो पत्ता लगाउन निरन्तर अनुसन्धान जारी राखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 

प्रकाशित मिति: : 2021-09-07 20:58:00

प्रतिकृया दिनुहोस्