संखुवासभा हत्या प्रकरणः  घाँस काट्नै जान डराउन थाले गाउँले

तेजन खड्का

संखुवासभा

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएपछि सिंगो गाउँ शोकमा डुबेको छ।

घटनापछि गाउँमा पुरै सन्नाटा छाएको छ। विभिन्न रहस्य र अड्कल काटिए पनि हत्याको वास्तविक कारण भने खुलेको छैन्। अज्ञात समूहको प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा फेला परेका थिए।

घरमा घरमूली ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्। शवलाई मंगलबार पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पोस्टमार्टम गरिएको छ।

कतै हत्यारा आफ्नो घरमा पनि आउने हुन् कि भन्ने त्रासले साँझ पर्नासाथ ढोका थुनेर बस्न थालेको स्थानीय बताउँछन्। घटनापछि गाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि स्थानीयको मनको त्रास हट्न सकेको छैन। बौदमानका एक छिमेकीले भने, 'साँझ पर्नासाथ डर लाग्छ। यत्रतत्र छरिएका शव देखिएको कुरा झलझली आँखामा आउँछ। कसरी बाँच्ने होला हे, दैव।'

झापामा जग्गा खरिद गर्ने तयारीमा रहेका कार्की परिवारको पैसाका लागि हत्या भएको आशंका गरिएको थियो। तर पैसा र गरगहना घरमै भेटिएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको छ।

परिवारै सखाप बनाएको घटनापछि शोक एवं त्रासमा डुबेको गाउँको अवस्था सामान्य बन्न नसकिरहेको वडाध्यक्ष खेमराज कटुवालले बताए। ‘प्रहरीको अनुसन्धानले सही फेरो समाउन सकिरहेको छैन। तर ठूलो संख्यामा प्रहरी परिचालन गरेर गाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘घटनापछि स्थानीय त्रसित छन्। गाउँले एवं छरछिमेकी सम्हालिन सकिरहेका छैनन्।’

घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए। कटुवालका अनुसार घटनाको अनुसन्धानमा स्थानीय र जनप्रतिनिधिले प्रहरीलाई सहयोग गरिरहेका छन्। घटनास्थलमा छरपस्ट शव देखेपछि स्थानीय आतंकित बनेको उनले बताए। घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

कार्की परिवारको घरबाट छिमेकीकोमा पुग्न लगभग ५ मिनेटजति लाग्छ। घटनास्थल वरपर खोला र खोल्साहरु छन्। पहाडका खोला र खोल्सामा ठूलो आवाज दिएर पानी बगिरहेकाले छरछिमेकीले घटना थाहा नपाएको हुनसक्ने अनुमान प्रहरीको छ। तर पनि प्रहरीले अनुसन्धान छिमेकीतर्फ पनि केन्द्रित गरेको बताइन्छ। घटनापछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

घटनापछि गाउँबाट बाहिरिएका व्यक्तिहरुका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। गाउँघरमा नयाँ व्यक्ति प्रवेश गरेको पनि पाइएको छैन। घटना भएका बेला त्यो क्षेत्रमा सक्रिय रहेका मोबाइलको पनि विश्लेषण प्रहरीले गरिरहेको छ। सामूहिक हत्यामा संलग्न भएकाहरुको पत्ता नलागेकाले त्रासमा दिन कट्नु परेको स्थानीयबासी बताउँछन्। ‘अहिले पनि हात, खुट्टा कामिरहेको छ,’ घटनास्थल नजिकै भेटिएका स्थानीय नन्दकुमार कार्की भन्छन्, ‘मेरो छोरीसँग दुई जना बच्चाहरु पढ्थे, उनीहरुको हत्या भएको सुन्दा पत्याउनै सकिरहेको छैन।’

उनका अनुसार मानिसहरु घाँस काट्न जानसमेत डराउँछन्। ‘प्रहरी चौकी नजिकमा छैन, गाउँमा प्रहरी राखिदिए हुन्थ्यो’ उनी भन्छन्, ‘चाँडोभन्दा चाँडो अपराधीलाई कठघारामा खडा नगरिए हामी बाँच्नै गाह्रो छ।’

कठै बौद्धमान

आँखा देख्न र कान सुन्न नसक्ने ९० वर्षीय बौद्धमान भने सकुशल छन्। उनीहरु एकै घरमा सुतेका थिए। उनी सकुशल छन्, तर अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन।  परिवारको हत्या किन र के कारणले भयो भन्ने खुल्न सकेको छैन।

आईतबार राति परिवारका सबै सदस्यको हत्या भए पनि उनले केही थाहा नपाएको बताएका छन्। ‘मलाई केही पनि थाहा छैन, बिहान परिवारका सवैको  हत्या भयोभन्दा छाँगाबाट खसेजस्तो भएँ',उनले भने।

बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहानमात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ। बौद्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।

'अबका दिनमा कसकाे साहारामा बाँच्ने होला, मेरो सन्तानले के बिगारिदिएको दिएको थियो र यस्तो भयो दैव', उनले भने, 'मन सम्हाल्न सकिरहेको छैन् '

डीआईजीसहितको टोली पनि घटनास्थल प्रस्थान

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सहितको टोली पनि गएको छ। 

बुधबार बिहान प्रदेश १ का डीआईजी अरुणकुमार बिसी र एक जना डिएसपीसहितको टोली घटनास्थल प्रस्थान गरेको प्रदेश १ का प्रवक्ता नविनराज राईले बताए। यसअघि घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी संघीय प्रहरी कार्यालय धरानको टोली, जिल्लाबाट डिएसपीसहितको टोली घटनास्थल पुगिसकेका छन्।

सीआईबीबाट डिएसपी रुगम कुँवरको नेतृत्वको तीन सदस्यीय टोली, संघीय प्रहरी कार्यालयबाट एसपी भीम दाहालको टोली, प्रदेश १ प्रहरी कार्यालय बाटै इन्सपेक्टर बबिन्द्र नेम्वाङको टोली र जिल्ला प्रहरी कार्यालयबाट लालध्वज सुवेदीसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्।

त्रासका कारण छिमेकी घर सरे

६ जनाको विभत्स हत्यापछि त्रसित बनेका छिमेकी चन्द्रबहादुर थापा घर सरेका छन्।

आफन्तसमेत रहेका थापा घटनास्थलभन्दा केही दुरीमा रहेको उम्लिङ मावि नजिकै सरेका हुन्। मृतक ५२ वर्षीय कमलाका काका चन्द्रबहादुर भन्छन्, 'बसिसक्नु भएन, घर भित्रै पनि मनमा चिसो पस्न थाल्यो। त्यही भएर आफैले बनाएको खाली घर थियो, अहिले त्यहाँ सरेको छु।'

पाँच जनाको परिवार रहेको चन्द्रबहादुरले घटना भएकै दिन घर सरेको बताए। 'घरभित्र आङ फुल्छ, केटाकेटीले पनि अब हामीलाई पनि मार्छ भन्दै रुन, कराउन र एकाेहाेरिन थाले। छाेराेछाेरीमा गलत मनोविज्ञान नहोस् भनेर पनि सर्नुपर्याे,' चन्द्रबहादुरले भने, 'गाउँ आतंकित भएको छ। गाउँलेहरू सबै तर्सिए र डराएका छन्।  राति र साँझ त्याे बाटो एक्लै हिँड्न कसैले आँट गर्दैनन्।'

 

प्रकाशित मिति: : 2021-09-08 18:02:00

प्रतिकृया दिनुहोस्