संखुवासभा हत्या प्रकरण : पाँच दिनसम्म पत्ता लागेन हत्यारा, डराएर छिमेकीले घर छाडे

फाइल तस्वीर
फाइल तस्वीर

संखुवासभाको मादी नगरपालिका वडा न १ उम्लिङका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको पाँच दिन बितिसके पनि प्रहरीले हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेका छैन। उता स्थानीय बासिन्दा भने घटनाबारे केही निष्कर्ष आउन नसकेपछि त्रसित बनेका छन्।

भौगोलिक विकटता, निरन्तर वर्षा, वनजंगल, सञ्चार र यातायातको असुविधा लगायतका कारणले प्रहरीको अनुसन्धान प्रभावकारी बन्न सकिरहेको छैन।

बौदमानका केही छिमेकीहरु डरले घर समेत सर्न थालेको स्थानीय शिक्षक तेजबहादुर बस्नेतले बताए।अपराधी पत्ता नलागेसम्म गाउँलेहरुमा डर हुने साँझको समयमा दिसापिसाब गर्न बाहिर निस्कन डराउने उनको भनाई छ।

कतै हत्यारा आफ्नो घरमा पनि आउने हुन् कि भन्ने त्रासले साँझ पर्नासाथ ढोका थुनेर बस्न थालेको स्थानीय बताउँछन्। घटनापछि गाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि स्थानीयको मनको त्रास हट्न सकेको छैन। बौदमानका एक छिमेकीले भने, 'साँझ पर्नासाथ डर लाग्छ। यत्रतत्र छरिएका शव देखिएको कुरा झलझली आँखामा आउँछ। कसरी बाँच्ने होला हे, दैव !'

मादी नगरपालिका- १ खोलागाउँको उम्लिङमा भएको उक्त हत्याकाण्ड अहिले देशभरी नै चासो र चर्चाको विषय बनेको छ। ८५ वर्षीय बौदमान कार्कीको परिवार नै सखाप बनाउने गरी दर्दनाक घटना गराइएको छ। घरमा रहेका ७ जनामध्ये वृद्ध अवस्थाका उनी मात्रै सकुशल भेटिएका छन्।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातीनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो।

परिवारै सखाप बनाएको घटनापछि शोक एवं त्रासमा डुबेको गाउँको अवस्था सामान्य बन्न नसकिरहेको वडाध्यक्ष खेमराज कटुवालले बताए। ‘प्रहरीको अनुसन्धानले सही फेरो समाउन सकिरहेको छैन। तर ठूलो संख्यामा प्रहरी परिचालन गरेर गाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘घटनापछि स्थानीय त्रसित छन्। गाउँले एवं छरछिमेकी सम्हालिन सकिरहेका छैनन्।’

६ जनाको विभत्स हत्यापछि त्रसित बनेका छिमेकी चन्द्रबहादुर थापा घर सरेका छन्। आफन्तसमेत रहेका थापा घटनास्थलभन्दा केही दुरीमा रहेको उम्लिङ मावि नजिकै सरेका हुन्। मृतक ५२ वर्षीय कमलाका काका चन्द्रबहादुर भन्छन्, 'बसिसक्नु भएन, घरभित्रै पनि मनमा चिसो पस्न थाल्यो। त्यही भएर आफैँले बनाएको खाली घर थियो, अहिले त्यहाँ सरेको छु।'

पाँच जनाको परिवार रहेको चन्द्रबहादुरले घटना भएकै दिन घर सरेको बताए। 'घरभित्र आङ फुल्छ, केटाकेटीले पनि अब हामीलाई पनि मार्छ भन्दै रुन, कराउन र एकोहोरिन थाले। छोरोछोरीमा गलत मनोविज्ञान नहोस् भनेर पनि सर्नुपर्यो', चन्द्रबहादुरले भने, 'गाउँ आतंकित भएको छ। गाउँलेहरू सबै तर्सिए र डराएका छन्।  राति र साँझ त्यो बाटो एक्लै हिँड्न कसैले आँट गर्दैनन्।'

गत सोमबार बिहान घर आसपासमा छरपस्ट शवहरु भेटिएका थिए। घटनाका सवालमा प्रहरीले कुनै संकेत प्राप्त गरेको छैन। न त हत्याराको पहिचान नै हुन सकेको छ।

छिमेकीहरुले पार्वतीको शव घर बाहिरै भेटेका रहेछन्। बेलाबेला बेहोस भइरहने समस्या रहेकाले मुर्छा परेको ठान्दै स्थानीयले उठाएर ओछ्यानमा सुताइदिएको खुलेको छ। प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो। नजिकै सुतेका उनका पति बौदमानले घटना चाल नपाएको बताए। उनी कान कम सुन्छन् र आँखा पनि मधुरो देख्छन्।

सडक छेउमा घोप्टो परेको अवस्थामा तेजबहादुरको शव भेटियो। घरनजिक खोल्सीमा कमला र रञ्जना तथा घरमाथि खरबारीमा दीपेन र गोमाको शव भेटिएको प्रहरी बताउँछ।

बर्बरतापूर्वक घटना कति बेला गराइएको हो भन्ने थाहा पाउन पोष्टमार्टम रिपोर्ट नै कुर्नुपर्ने भएको छ। छिमेकीहरुले बिहान ८ः३० बजेतिर मात्रै शवहरु देखेको बताएका छन्। घटनास्थलको प्रकृति हेर्दा लखेटीलखेटी हत्या गरेजस्तो देखिने प्रहरीले जनाएको छ।

घटनास्थलमा निरन्तर अनुसन्धान फराकिलो पारेपनि अहिलेसम्म कुनैपनि तथ्य फेला नपरेको प्रहरीले बताएकाे छ। घटना भएको चार दिन बितिसकेको छ। अनुसन्धान निरन्तर अगाडि बढिरहेको छ। निरन्तर अनुसन्धानमा जुटिरहँदा पनि घटनास्थलमा हत्यामा संलग्न भएको कुनै बस्तुहरु फेला नपरेको प्रहरीले बताएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

भाग्दाभाग्दै मारिएको आशंका
घटनाकाे अनुसन्धानका क्रममा घरभन्दा करिब एक सय मिटर पर सडकको भित्तामा फेला परेको तेजबहादुरको शवको प्रकृति हेर्दा कोखामा रड प्रहार गरेको जस्तो प्वाल देखिएको र भित्ता मास्तिर उनको फोन भेटिएकोले भाग्दा भाग्दै मारिएको जस्तो अवस्थामा रहेकोे थियो। त्यस्तै ५२ वर्षीय कमला र ३२ वर्षीय रञ्जना कार्कीको टाउकोमा चोट भएकाले उनीहरुलाई ढु्ङ्गा र चिर्पट, हम्मर प्रयोग गरी हत्या गरेको हुनसक्ने आशंका गरिएकाे छ।

त्यसैगरी ११ वर्षीय दिपेन कार्कीको टाउकोमा चोट देखिएको र ७ वर्षीया गोमा कार्कीको मुन्टो बटारेर मारिएको जस्तो अवस्थामा शव फेला परेको थियाे। ८४ वर्षीया पार्वता कार्कीलाई कुँडो पकाउँदा पकाउँदै मारिएको जस्तो अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शी, स्थानीय, जनप्रतिनिधिलगायत प्रहरीले अनुमान गरेका छन्।

तेजबहादुर मात्रै नभई सबैलाई लखेट्दै मारेको हुुन सक्ने आशकां गरिएको छ। उक्त दिन तेजबहादुरले धान गोड्ने खेताला बोलाएकाले उनी बिहानै घरबाट निस्किएर खेततिर हिँडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तेजबहादुरको खुट्टामा गमबुट पनि भेटिएको थियो। हत्यारा खोल्सीमा लुकेर बसेको अवस्थाबाट तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको बताइएको छ।

तेजबहादुरमाथि आक्रमण भएको देखेपछि सबै उनलाई बचाउन जाँदा अन्यको पनि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ। छरछिमेकी कसैले पनि चिच्याएको अथवा होहल्ला गरेको नसुनेको स्थानीय बताउँछन्। तर छिमेकीले घटना भएको सोमबार थाहा पाएका थिए।

घरका सबैजना आइतबार साँझ खाना खाएर सुतेको घटनाबाट बाँच्न सफल बौदमान बताउँछन्। बिहान उठ्दा घरमा कोहि नभएकोले सबैजना काममा गएहोला भन्ने सोचे तर उनकी श्रीमती पार्वता लडिरहेको अवस्थामा देखेको उनको भनाइ छ। पार्वतालाई मुर्छा पर्ने बिराम रहेकाले बौदमानले त्यहि होला भन्ने सोचेर ओछ्यानतिरै फर्केको बताउँछन्। त्यहि बेला भतिजो आइपुगेर पार्वतालाई घरभित्र खाटमा लगेर सुताएको बौदमानले बताए। तर उनले घटना कति बेला भयो केहि थाहा नभएको बताउँछन्।

डाँका गर्न आएकाहरुले हत्या गरेको हुनसक्ने आशंका गरेपनि घटनापछि घरको खानतलासी गर्ने क्रममा नगद र जिन्सी भेटाएकोले रिसिबीका कारण हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ। हत्या चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने प्रहरीको बुझाई छ। हत्याको मुख्य प्रमाणको रुपमा हेरिने ‘पोष्टमार्टम रिपोर्ट’ को पर्खाइमा रहेको छ।

‘विभिन्न हिसाबले प्रमाणहरु जुटाउने काम हुँदैछ,’ प्रदेश १ प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीले, ‘दुर्गम एवं विकट क्षेत्रमा घटना भएकाले समय लागे पनि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर उपलब्धिलाई सार्वजनिक गर्ने छौँ।’ संवेदनशील एवं दर्दनाक घटनामा मौसमदेखि भूगोलले पनि साथ नदिँदा अनुसन्धानमा केही अलमल भइरहेको उनले बताए।

‘घटना जटिल र निक्कै गम्भीर छ। अहिलेसम्म कुनै निस्कर्ष निस्कन सकेन,’ उनले भने, ‘धैर्यता र संयमता अपनाऔं। जतिसक्दो चाँडो हत्यारा पत्ता लगाएर घटनाको यथार्थ सार्वजनिक गरिने छ।’

प्रकाशित मिति: : 2021-09-10 15:40:00

प्रतिकृया दिनुहोस्