संखुवासभा हत्या प्रकरणः प्रहरीको आठ बुँदे 'ब्रिफिङ'मा के छ ?

संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गर्यो।

परिवारै सखाप हुने गरी सङ्खुवासभामा भएको हत्यामा संलग्न रहेको दाबी गर्दै सार्वजनिक गरिएको लोकबहादुर कार्की एक्लैले घटना गराएको दाबी गर्दै प्रहरीले आठ बुँदे ब्रिफिङ सार्वजनिक गरेको छ।

अभियुक्त सार्वजनिक गर्दा डीआइजी अरुण बीसीले घटना तथा उठेका प्रश्नको जवाफ दिएका थिए।

गत सोमवार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको थियो।

प्रहरीले सार्वजनिक गरेको प्रेस नोट

मृतकहरू : (१) वर्ष ५५ को तेज कुमार कार्की (२) वर्ष ५४ की कमला भन्ने मनमाया कार्की (३) वर्ष ३२ की रञ्जना कार्की (४) वर्ष ८ को विपिन भन्ने दिपेन कार्की (५) वर्ष ५ की गोमा कार्की (६) वर्ष ८४ की पार्वती भन्ने पार्वता कार्की जीवित रहेको : वर्ष ९० को बौद्ध बहादुर कार्की।

घटनाको विवरण :

मिति २०७८।५।२१ गते बिहान अं. ६:३० बजे जिल्ला सङ्खुवासभा, मादी नगरपालिका वडा नं. १ खोलागाउँका वर्ष ९० को बौद्ध बहादुर कार्कीको श्रीमती वर्ष ८४ की पार्वता कार्की, छोरा वर्ष ५५ तेज कुमार कार्की, छोरा बुहारी वर्ष ५४ की कमला कार्की, नातिनी बुहारी वर्ष ३२ की रञ्जना कार्की, पनाति वर्ष ८ को दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरी एकै परिवारका ६ सदस्यहरूको टाउको तथा शरीरको विभिन्न भागहरूमा दाउराको चिर्पटले प्रहार गरी हत्या भएको र उक्त घटनामा निज बौद्ध बहादुर कार्की सकुशल अवस्थामा घरमा फेला परेको।

प्रहरी परिचालनको अवस्था :

घटनाको जानकारी प्राप्त हुनासाथ २ घण्टामा घटनास्थल पुगी सुरक्षित गरेको र जिप्रका सङ्खुवासभा, सङ्घीय प्रहरी कार्यालय धरानबाट डग सहित, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान व्युरो सहित ४९ जना प्रहरी परिचालित भएको।

मिति २०७८।५।२२ गते घटनाको विश्लेषण तथा अनुसन्धान सुरु गर्नुका साथै डग परिचालन, घटनास्थल लास जाँच मुचुल्का, भौतिक सबुत प्रमाण सङ्कलन, खानतलासी तथा स्थानीय मानिसहरूसङ सोधपुछ बयान लगायतका कार्य गरेको र १३:०० बजे पोस्टमार्टमको लागि मृतक लासहरू धरान स्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको।

घरमा रहेको ८ लाख ८९ हजार नगद, सुनचाँदीका गरगहना तथा मृतकले लगाएका गहनाहरू यथास्थितिमा नै रहेको अवस्थामा फेला परेको।

सङ्घीय प्रहरी कार्यालयको प्रउको कमान्डमा जिप्रका सङ्खुवासभाको प्रनाउ, केन्द्रीय अनुसन्धान ब्युरोका प्रनाउ र प्रदेश प्रहरी कार्यालयको प्रनि सहितको टोलीले कमान्ड पोस्ट स्थापना गरी संयुक्त रूपमा अनुसन्धान अगाडि बढाएको साथै मिति २०७८।५।२३ गते १ नं. प्रदेश प्रहरी प्रमुख प्रनामनि अरुण बिसी घटनास्थल पुग्नुभई अनुसन्धानको नेतृत्व गर्नु भएको।

घटना घट्नुका कारणहरू :

-अभियुक्त वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१४ र २०१९ मा २ पटक कतार र सन् २०१६ मा १ पटक मलेसियामा काम गर्न गएकोमा पछिल्लो पटक स्वास्थ्यमा समस्या आई केही महिना पश्चात् काम गर्न नसकी फर्की आएको।

- अभियुक्त वेला वेला आक्रोशित हुने नजिकमा रहेकाहरूलाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने, राति नसुत्ने र एक्लै हिँड्ने र घरमा निजको बुबा र कान्छा भाइसँग झैझगडा गर्ने स्वभावको रहेको।

- अभियुक्तको बुबा कान कम सुन्ने, बोली लटपटिने र तुलनात्मक रूपमा कमजोर आर्थिक अवस्थाको रहेको र मर्ने वेलामा निजको बुबाले मृतक तेज बहादुरलाई रेखदेख गरिदिन भनेकोले मृतक तेज बहादुर कार्की अभियुक्त घरमा बेला बेलामा सम्झाउने, काम अह्राउने र काम नगर्दा किन काम नगरेको, तँ पागल अल्छी, काम पनि गर्दैनस् भनी हप्काउने गरेको। जुन कुरा अभियुक्त लोक बहादुर कार्कीले गम्भीर रूपमा मनमा लिएको साथै पटक पटक विदेश जाँदा पनि कमाउन नसकेको, विदेश जाँदाको ऋण र आमाको उपचार र क्रिया खर्च समेत भएको जग्गा बेची तिरेको जुन कुराले अभियुक्तलाई हिनतावोध गराइरहेको।

- घटनाको दिन मृतक तेज बहादुरको घर देखि १ घण्टा पैदल टाढा मादि नपा वडा नं. ३ पिप्लेमा रहेको खेतमा गाउँबाट खेताला लग्ने कार्यक्रम रहेकोमा रण बहादुरको घरबाट अभियुक्त लोक बहादुर कार्की र निजको भाइ नरेश कार्की समेत २ जना जाने कार्यक्रम रहेको। घटनाको प्रकृति र घटनास्थलको विश्लेषण गर्दा पटक पटकका कुराहरूले मृतक तेज बहादुरप्रति अत्यधिक घृणाको भावना विकाश भएको र घटनाको अघिल्लो रात छटपटी भई नसुती विक्षिप्त मानसिक अवस्थामा रहेकोले घटना घटाएको पाइएको।

- अभियुक्तको बयान अनुसार मिति २०७८।०५।२० गते रातको समयमा निजलाई रात भर निन्द्रा नलागी छटपटी भई बसेको र मिति २०७८।०५।२१ गते बिहान निजको भाइ गाईलाई खोले पकाई, निजको बुबा र भाइ चिया पिई घाँस काट्न गएको, अभियुक्त एक्लै घरमा रहेको र सोही क्रममा बिहान मृतक तेज बहादुर कार्की अभियुक्तको घर तर्फ आएको खेताला कन्फर्म गरी फर्कने क्रममा रातभरको अनिदो र विक्षिप्त अवस्थामा रहेको र आफूलाई पटक-पटक पागल र काम गर्न नसक्ने भनी भनेको कुरा सम्झी यही नै उपयुक्त समय ठानी रिसको झोकमा नजिकै रहेको दाउराको घारवाट चिर्पट निकाली पछ्याउँदै नजिकैको वारिको डिलमा रहेको गोगनको वोट नजिक चिर्पटले पछाडिबाट टाउकोमा पटक-पटक प्रहार गर्दा निज तेज बहादुर ढली अनियन्त्रित भई भिरालो जमिनबाट लडी तल बाटोमा पुगी धर्मराउदै 'लोकेले मलाई मार्‍यो' भन्दै उठ्न खोज्दा पुन टाउकोमा प्रहार गरी घोप्टो पारि लडाएको।

- तेज बहादुरले हारगुहार गरेको आवाज सुनी निजको श्रीमती कमला र बुहारी रञ्जना समेत घटना भएतर्फ आएकोमा अभियुक्तले निजहरू समेतले थाहा पाएको ठानी निजहरूतर्फ गई कमला भन्ने मनमाया कार्कीलाई खोल्सिमा भेटी सोही चिर्पटले २/३ पटक प्रहार गर्दा रन्थनिएर बाटोबाट खोल्सिमा खसेको र सोही क्रममा कमलामाथि प्रहार भएकोदेखि मृतक रञ्जना बेहोस जस्तो भई भुईँमा ढली उठ्ने क्रममा निजलाई समेत टाउकोमा पटक पटक प्रहार गरी सासू लडेकोतर्फ हुत्त्याइ दिएको। घर नजिक बाटो डिलमा आएका २ जना नाबालकहरू दिपेन र गोमालाई अभियुक्तले देखि लखेटी हत्या गरेको।

-  मृतकको घरतर्फ गई घर पछाडि खोले पकाउने ठाउँमा पार्वता कार्कीलाई भेटी कपालमा समाती भित्तामा टाउको-पटक पटक ठोक्काई हत्या गरी घर फर्की घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हाली वालि नष्ट गरेको।

- घटनास्थलमा रहेको लासहरू रहेको फरक फरक ४ स्थान र अभियुक्तले गरेको आक्रमणको प्रकृतिलाई हेर्दा सबै भन्दा पहिला शारीरिक रूपमा बलियो तेज बहादुरलाई पछाडिबाट आक्रमण गरी हत्या गरेको र क्रमशः तुलनात्मक रूपमा कमजोर शारीरिक अवस्थाका महिलाहरू, नाबालकहरू र वृद्धमाथि फरक फरक स्थानमा एकै व्यक्तिले एउटै चिर्पटले हानेको देखिएको।

प्रकाशित मिति: : 2021-09-13 10:12:00

प्रतिकृया दिनुहोस्