फागो ब्याक भएपछि मोरङ– १ को सभापतिमा राई निर्विरोध निर्वाचित

नेपाली काँग्रेस मोरङ क्षेत्र नं.१ को सभापतिमा शङ्कर राई निर्वाचित भएका छ्न। सोमबार भएको उमेद्वार मनोनयन कार्यक्रममा शङ्कर राईको मात्र उमेद्वारी दर्ता भएपछि राई सर्वसम्मत निर्वाचित भएका हुन्।

राई लेटाङ नगरपालिकाका नगर प्रमुख एवं पार्टीको महासमिति सदस्य समेत हुन। यसअघि हालका सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले सभापतिमा तेस्रो पटक मनोनयन दर्ता गर्ने चर्चा चलेको थियो। तर, एकाएक फागो ‘ब्याक’ भएपछि शङ्कर राई निर्विरोध निर्वाचित भए।

फागोले क्षेत्रीय सभापतिमा पुन: उमेद्वारी दिने चर्चाले राजनीतिमा पुस्ता हस्तान्तरणको कुरा उठ्न थालेको छ। शेरबहादुर देउवाको नेतृत्वबाट पाँच वर्षमै कांग्रेसजन अघाएका छन्। लगातार एउटै ब्यक्तिको नेतृत्व १५ वर्ष कसरी रुचाउँलान भन्ने प्रश्न उठिरहेका बेला फागो ब्याक हुनुलाई सकारात्मक रुपमा हेरिएको छ।

'फागो काङ्ग्रेसलाई आवश्यक पर्ने नेता हुन् ,उनलाई जिल्ला तहको नेतृत्वमा पुर्याउनु पर्छ', एक कार्यकर्ताले भने,'फागोले राजनीतिक ब्यावहार र चरित्र प्रस्तुत गरे, उनलाई जिल्ला तहमा निर्वाचित गराउनु पर्छ।'

कांग्रेस स्रोतका अनुसार १३ औं महाधिवेशनमा फागोेले अन्तिम पटक भन्दै राईलाई क्षेत्रीय सभापति पद छोडिदिन आग्रह गरेका थिए। सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार सचिव पदमा भीमप्रसाद पोखरेल र पर्वत राई सर्वसम्मत निर्वाचित भए।

१२ औं र १३ औं महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको मोरङ क्षेत्र नं. १ मा यो पटक क्षेत्रीय सभापति र सचिव पदमा मात्र सर्वसम्मत नेतृत्व चयन भयो। नयाँ विधान अनुसार प्रदेश निर्वाचन क्षेत्रका सभापति संघीय क्षेत्रको पदेन उपसभापति हुने व्यवस्था छ। दुई सह–सचिव, सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचन मङ्गलबार उर्लाबारीको एभरेष्ट फनपार्कमा हुँदैछ।

प्रकाशित मिति: : 2021-11-23 09:01:00

प्रतिकृया दिनुहोस्